‘रामायण’को बजेट एक सय मिलियन अमेरिकी डलर

Rawayan

मुम्बई: निर्देशक नितेश तिवारीको महत्वकांक्षी प्रोजेक्ट ‘रामायण’ बलिउडमा चर्चामा रहेको फिल्म हो। रणवीर कपूर स्टारर फिल्मको छायांकन शुरु भइसकेको छ। फिल्मको सेटबाट कैयौं तस्वीर पनि सार्वजनिक भएका छन्। निर्माण पक्षले फिल्मको पहिलो भाग निर्माणका लागि एक सय मिलियन अमेरिकी डलर खर्च गर्ने तयारी गरेको छ। यो खर्चसँगै ‘रामायण’ भारतीय फिल्मको सबैभन्दा महंगो र महत्वाकांक्षी फिल्म बन्नेछ। निर्माताले यसलाई ग्लोबल तहको फिल्म बनाउन कुनै कसर बाँकी नराख्ने जनाएको छ।

‘अहिले पहिलो भागलाई एक सय मिलियन अमेरिकी डलर खर्च गर्ने निर्माण पक्षको तयारी हो। यसको फ्रेञ्चाइजीको लागत अझ बढ्नेछ। निर्माता दर्शकलाई भगवान रामको रुपमा रणवीर कपूरलाई भिजुअल ट्रीट दिन चाहन्छन्। त्यही कारण पनि फिल्मको लागत बढेको हो’, निर्माण पक्षले भनेको छ। रणवीर अभिनित सन् २०२२ मा रिलिज फिल्म ‘ब्रह्मास्त्र’ ४ सय ५० करोड रुपियाँको बजेटमा बनेको थियो। यो फिल्म त्यो समयको सबैभन्दा महंगो बजेटको थियो। ‘रामायण’मार्फत रणवीर आफ्नो रेकर्ड तोड्ने मात्र नभई हिन्दी फिल्मका लागि नयाँ मानक स्थापित गर्ने तयारीमा छन्। ‘फिल्मलाई ६ सय दिनको पोस्ट प्रोडक्सन कार्यको आवश्यकता छ। फिल्मलाई मौलिक बनाउन निर्माताले यति धेरै पैसा लगानी गर्दैछन्’, निर्माण पक्षको भनाइ छ। फिल्ममा ‘केजीएफ’ स्टार यश लंका पति रावण र साई पल्लवी माता सीताको भूमिकामा देखिँदैछिन्। फिल्मका लागि रणवीर सुटिङ अवधिभर शाकाहारी बनेका छन्।

About Author

Advertisement