कोलकाता: मुख्यमन्त्री ममता बनर्जी ले मतदाता नामावलीबारे गम्भीर प्रश्न उठाएकी छन्। उनले ‘विचाराधीन’ मतदाताहरूको सूचीबाट ठूलो संख्यामा नाम हटाउन सकिने भन्दै निर्वाचनको निष्पक्षतामाथि प्रश्न उठाएकी छन्।
उनका अनुसार करिब ६० लाख मामिलामध्ये २२ लाखको टुंगो लागिसकेको छ, जसमा झण्डै १० लाख नाम हट्ने आशंका छ। उनले मालदा, मुर्शिदाबाद र उत्तर र दक्षिण दिनाजपुर जिल्लाहरू सबैभन्दा बढी प्रभावित भएको बताइन्।
उनले विशेष समुदायका मानिसहरूको नाम बढी हटाइने सम्भावना रहेको आरोप समेत लगाइन्, यद्यपि अन्य समुदायका नाम पनि यसमा समावेश छन्।
मुख्यमन्त्रीले शुक्रबार नामावलीको पहिलो भाग सार्वजनिक हुने भनिए पनि दिउँसोसम्म भारत निर्वाचन आयोग बाट कुनै जानकारी नआएको भन्दै आपत्ति जनाइन्। उनले प्रक्रिया जानाजान ढिला गरिएको आरोप लगाउँदै निर्वाचनअघि यो काम सम्पन्न हुनेमा शंका व्यक्त गरिन्।
यसैबीच, उनले राज्यभर ठूलो संख्यामा सुरक्षाकर्मी र पर्यवेक्षक खटाइँदा जनजीवनमा असर पर्ने चिन्ता व्यक्त गरिन्।
उनका अनुसार यति धेरै सुरक्षाकर्मी र अधिकारीका लागि खाने–बस्ने व्यवस्था गर्दा सर्वसाधारणले प्रयोग गर्ने ग्यासजस्ता आवश्यक सामग्रीमा अभाव हुन सक्छ।
ममताले बाह्य दबाबका कारण राज्यका नागरिक प्रभावित हुने र निर्वाचनको समयमा सर्वसाधारणले समस्या भोग्नुपर्ने अवस्था आउन सक्ने बताइन्।









