इंफाल: पूर्वोत्तर राज्य मणिपुरमा बुधबार राष्ट्रपति शासन हटाइयो। राष्ट्रिय जनतान्त्रिक गठबन्धन (राजग)का नेता युमनाम खेमचन्द सिंहले मणिपुरको मुख्यमन्त्रीको रूपमा ‘लोक भवन’मा पद तथा गोपनीयताको सपथ ग्रहण गरे। यसअघि ६२ वर्षीय खेमचन्द सिंहलाई मंगलवार नयाँ दिल्लीमा भएको बैठकमा भाजपा विधायका दलको नेता चयन गरिएको थियो।
हिंसाग्रस्त मणिपुरलाई लामो समयको राष्ट्रपति शासनपछि नयाँ मुख्यमन्त्री प्राप्त भएको छ। मार्शल आर्टमा दक्ष मैतेई समुदायका नेता खेमचन्द सिंहले आज मुख्यमन्त्रीको रूपमा सपथ लिए। यसअघि उनले राज्यपालसँग भेट गरी सरकार गठनको दाबी पेश गरेका थिए।
साथै, भाजपा विधायक नेमचा किपगेनले मणिपुरको उपमुख्यमन्त्रीको रूपमा सपथ लिएका छन्। उनी कुकी समुदायका हुन्। त्यस्तै, नागा पीपुल्स फ्रन्टका विधायक एल डिखोले पनि उपमुख्यमन्त्रीको रूपमा सपथ लिएका छन्। भाजपा का गोविन्दास कोंथौजम र एनपीपीका केके लोकेन सिंहले मन्त्री पदको सपथ लिएका छन्। नेमचा किपगेनले नयाँ दिल्लीस्थित मणिपुर भवनबाट डिजिटल माध्यममार्फत सपथ लिएका थिए।
सपथ ग्रहणपछि मुख्यमन्त्री खेमचन्दले पत्रकारहरूसँगको संवादमा भने, “मणिपुर विकसित भारत २०४७ मा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ। यहाँ ३६ समुदाय बस्छन् र हामी राज्यमा शान्तिपूर्ण वातावरण कायम गर्न चाहन्छौं।”
भाजपा विधायक दलको बैठक मंगलबार राजधानी नयाँ दिल्लीमा सम्पन्न भएको थियो। बैठकमा खेमचन्दको नाममा सहमति बन्यो। बैठकमा केंद्रीय गृह मन्त्री अमित शाह, भाजपा अध्यक्ष नितिन नवीन र पार्टी पर्यवेक्षक तरुण चुघको उपस्थिती रहेको थियो।
पूर्व मुख्यमन्त्री एन. बीरेन सिंहले आफ्नो रोजाइको व्यक्तिलाई मुख्यमन्त्री बनाउन चाहेका थिए, तर यसपटक उनको प्रस्तावलाई महत्व दिइएको थिएन। बीरेनले मैतेई समुदायका गोविन्द दासलाई मुख्यमन्त्री बनाउने प्रयास गरेका थिए। पार्टी स्रोतका अनुसार, कुकी र मैतेई समुदायबीचको संघर्षका कारण बीरेनले केही पटक केंद्रीय नेतृत्वका निर्देशनको अवहेलना गरेका थिए। उनलाई राज्यसभा पठाउने आश्वासन दिइएको थियो।
नयाँ मुख्यमन्त्रीका लागि ठूलो चुनौती आगामी मार्च २०२६ मा हुने विधानसभा चुनावमा कुकी र मैतेई समुदायबीच संतुलन कायम गर्नु हो, जसले गर्दा पार्टीलाई चुनावी नोक्सानी नहोस्। पार्टी चाहन्छ कि आगामी चुनावअघि मणिपुरमा शान्ति बहाली होस्।

उल्लेखनीय छ कि मणिपुरमा फेब्रुअरी २०२५ देखि राष्ट्रपति शासन लागू थियो। मे २०२३ मा मैतेई र कुकी समुदायबीच सुरु भएको जातीय हिंसाका कारण तत्कालीन मुख्यमन्त्री एन. बीरेन सिंहले राजीनामा दिएका थिए। मणिपुर विधानसभा अन्तर्गत १२औँ विधानसभा सत्र ६ फेब्रुअरीदेखि सुरु हुने सम्भावना छ।










