मणिपुरको पैह्रोमा दार्जीलिङको रङ्गबुल गोर्खा बस्ती निवासी १०७ बटालियन टीएका जवान सीताराम राई शहीद

IMG-20220701-WA0168.jpg

सोनादा: मणिपुरमा भएको भयावह पैह्रोको चपेटमा परेर दार्जीलिङको रङ्गबुल गोर्खा बस्ती निवासी १०७ बटालियन टीएका जवान सीताराम राईको पनि निधन भएको जानकारी प्राप्त भएको छ। उनको शव आज शुक्रबार बिहान मात्रै उद्धार गरिएको आधिकारिक जानकारी सीतारामको परिवारलाई प्राप्त भएको छ। ४२ वर्षे सीताराम गत फरवरी महिनामा मात्रै छुट्टीमा आफ्नो घर आएका थिए अनि फेरि छुट्टीमा आउँदा उनले आफ्नो घरलाई पक्का बनाउने पनि योजना बनाएका थिए। तर उनको यो योजना उनीसँगै समाप्त भएको छ। सीतारामले आफूपछि पत्नी, छोरा, आमा-बाबा अनि एकजना दाज्यु र भाइलाई छोड़ेर गएका छन्। सिताराम राईको ससुरा डीबी मालेले पत्रकारहरूसित कुराकानी गर्दै गत जनवरीमा छुट्टीमा आएको र फेरि आगामी सेप्टम्बर महिनामा छुट्टीमा आउने कुरा गरेको बताएका छन्। उनले ज्वाई छुट्टीमा आउँदा अब घर बनाउँछु भनेर भनेको पनि बताएका छन्। सिताराम राईको दाजु बिकास राईले पत्रकारहरूसित कुराकानी गर्दै आज बिहान ८ – ८.३० तिर भाइको पार्थिव शरीर भेट्टाएको खबर आएको र अब हामीलाई पार्थिव शरीर ल्याउनलाई भोलि कि पर्सीतिर बोलाउन सक्छ भनी बताएका छन्। अर्कोतिर रङ्गबुल गोर्खा बस्तीस्थित सिताराम राईको घरमा पुगेर हालैमा रंगबुल धोतरिया रंगमुक समष्टिबाट चुनाव जितेका राजेस चौहानले आज बिहान सीतारामका आमा-बाबा साथै आफन्तहरूसित भेट गरी शोक प्रकट गरेको बताएका छन्। उनले मृतक सीतारामको आत्मशान्तिको लागि प्रार्थना गर्दै शोकित परिवारलाई यस महासंकटको घड़ीमा सहने शक्ति ईश्वरले प्रदान गरून् भन्ने पनि कामना गरेका छन्।

About Author

Advertisement