८ नोभेम्बरः सौरेनी बस्ती मञ्जु ड्राइवर वेलफेयर एसोसिएशनको तत्त्वावधानमा आउँदो १२ नोभेम्बरदेखि आयोजन गरिने मञ्जुश्री गोल्ड कप फूटबल टुर्नामेण्ट (सीजन ३)-को क्रीड़ासूची जारी गरियो। सौरनी बस्ती घुमाउने टार (साधु गाउँ) खेल मैदानमा हुने यस सेभेन ए साइड टुर्नामेण्टमा सम्पूर्ण उत्तर बंगाल र सिक्किम मात्र नभएर छिमेकी देश नेपालका शीर्ष २० वटा टीमलाई प्रवेश दिइएको छ। उद्घाटन म्याचमा केकेएफसी झापा र सिंगलिंग स्पोर्टिंग क्लब, सोरेंग (सिक्किम)-बीच भिड़न्त हुनेछ। टुर्नामेण्टका दुईवटा सेमिफाइनल १७ र १८ दिसम्बरमा हुनेछ। यसरी नै फाइनल २५ दिसम्बरमा खेलिनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई चरण राई स्मृति ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिने आयोजक सौरेनी बस्ती मञ्जु ड्राइवर वेलफेयर एसोसिएशनका सचिव सुजु राईले बताएका छन्।









