मङ्पु: मङपू मोडेल लेबर वेलफेयर सेन्टरको आयोजनामा तथा वेस्ट बंगाल लेबर वेलफेयर बोर्ड (नर्थ–इस्ट रिजन) को प्रायोजनमा मङपू जन मैदानमा विभिन्न विद्यालयका छात्र छात्राहरूको सहभागितासहित वार्षिक खेलकूद समारोह भव्य रूपमा सम्पन्न भएको छ। उक्त खेलकूद समारोहमा मङ्पू क्षेत्रका विभिन्न प्राथमिक तथा उच्च विद्यालयहरूबाट सयभन्दा बढी विद्यार्थीहरूले उत्साह, अनुशासन र खेलभावनाका साथ सहभागिता जनाएका थिए। विभिन्न खेल प्रतिस्पर्धाहरूमा विद्यार्थीहरूले आफ्नो प्रतिभा, लगनशीलता र आत्मविश्वास प्रदर्शन गर्दै कार्यक्रमलाई जीवन्त बनाएका थिए। खेलकूद समारोहमा सहभागी विद्यालयहरूका शिक्षक–शिक्षिकाहरू, अभिभावकहरू तथा क्षेत्रका गण्यमान्य व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो, जसले विद्यार्थीहरूको हौसला अझ बढाएको देखिन्थ्यो। खेलकूदका विभिन्न प्रतिस्पर्धामा प्रथम, दोस्रो तथा तेस्रो स्थान हासिल गर्ने प्रतियोगीहरूलाई मेडल, प्रमाणपत्र तथा आकर्षक पुरस्कारहरू प्रदान गरियो। यस अवसरमा आयोजक समितिको तर्फबाट मङपू मोडेल लेबर वेलफेयर सेन्टरकी प्रभारी सदुमा छेत्रीले जानकारी दिँदै भनिन्, आज सम्पन्न क्षेत्रस्तरीय खेलकूद समारोहमा प्रथम स्थान हासिल गर्ने प्रतियोगीहरूले यही जनवरी महिनामा कलकत्तामा आयोजना हुने राज्यस्तरीय खेलकूद प्रतियोगितामा मङपू क्षेत्रको प्रतिनिधित्व गर्दै सहभागिता जनाउने अवसर प्राप्त गर्नेछन्।

उनले थप स्पष्ट पार्दै भनिन्, राज्यस्तरीय प्रतियोगितामा सहभागी हुने विद्यार्थीहरूको यातायात, बसोबास तथा आवश्यक सम्पूर्ण व्यवस्थापन विभागद्वारा नै गरिनेछ, जसले गर्दा विद्यार्थीहरू निश्चिन्त रूपमा आफ्नो प्रदर्शनमा केन्द्रित हुन सकून्। प्रभारी छेत्रीले वेस्ट बंगाल लेबर वेलफेयर बोर्डले विद्यार्थी बाल–बालिकाहरूलाई केवल शैक्षिक क्षेत्रमा मात्र नभई कला, संगीत, खेलकूद तथा अन्य सृजनात्मक गतिविधिहरूमा पनि अघि बढाउन निरन्तर प्रयास गर्दै आइरहेको उल्लेख गरिन्। विभागले नियमित रूपमा विभिन्न प्रतिस्पर्धात्मक कार्यक्रमहरू आयोजना गर्दै विद्यार्थीहरूको सर्वाङ्गीण विकासमा योगदान पुर्याउँदै आएको र धेरै वर्षदेखि विद्यार्थीहरूलाई कलकत्तामा आयोजित राज्यस्तरीय मञ्चहरूमा आफ्नो प्रतिभा प्रस्तुत गर्ने अवसर प्रदान गर्दै आएको पनि उनले बताइन्।

समग्रमा यस वार्षिक खेलकूद समारोह सफल, अनुशासित र भव्य रूपमा सम्पन्न भएको जनाउँदै उनले कार्यक्रम सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्याउने विभिन्न विद्यालयका शिक्षक–शिक्षिका, स्वयंसेवक, अभिभावक तथा सम्पूर्ण सहयोगीहरूप्रति आयोजक समितिको तर्फबाट हार्दिक आभार व्यक्त गरेकी छन्।










