गान्तोक। मंगन जिल्लाका जिल्लापाल डा. एबी कार्कीको नेतृवमा रहेको जिल्ला प्रशासनिक टोलीले हिजो बिहीवार मंगन जिल्लाको रोङगोङ तुमलोङ ग्राम पञ्चायतको स्थलगत भ्रमण गऱ्यो। “फाइल टु फिल्ड’’ अभियान एवं कवि महकुमाअन्तर्गत रोङगोङ तुमलोङ ग्राम पञ्चायतमा मनसून अवदि आपदा आँकलन, प्रबन्धन अनि न्यूनीकरणको निम्ति यो विभागीय निरीक्षण कार्य हो।

निरीक्षण अवधि जिल्लापाल डा. कार्कीसँग मंगन जिल्लाका अतिरिक्त जिल्लापाल (विकास), काबीका महकुमा अधिकारी, खण्ड विकास अधिकारी, सिक्किम राज्य आपदा प्रबन्धन प्राधिकरण, शिक्षा विभाग, एसपीडब्ल्यूडी, वन विभाग, सड़क तथा पूल विभाग, पर्यटन विभाग, पीएमजीएसवाई, बागवाणी, डब्ल्यूसीडीडी, सिँचाई, पशुपालन एवं पशुधन, ग्रामीण विकास विभाग, सामाजिक न्याय एवं कल्याण विभाग अनि एलआरडीएमडी विभागका अधिकारीहरूको उपस्थिति रहेको थियो। यस टोलीले लोवर तुमलोङको मणिलाखाङदेखि निरीक्षण कार्य शुरु गरेको थियो। टोलीले पीएमजीएसवाई सड़क, जुनियर हाई स्कूल, आईसीडीएस केन्द्र, अप्पर लाबराङस्थित ऐतिहासिक गुम्बा, डेञ्जोङ मिनड्रोलिङ गुम्बा आदिको निरीक्षण गर्दै त्यहाँका समस्याहरू बुझ्दै विविध विषयबारे छलफल गऱ्यो।









