भूकम्पपीडितलाई राहत सामग्री हस्तान्तरण

IMG-20250411-WA0129

काठमडौँ: नेपाल सरकारले म्यान्मारका भूकम्पपीडितलाई खाद्यान्नसहितको राहत सामग्री सहयोग गरेको छ। परराष्ट्र मन्त्रालय, गृह मन्त्रालय, राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा प्राधिकरणका उच्च अधिकारीसहित बुधबार म्यान्मार गएको टोलीले म्यान्मारको परराष्ट्र मन्त्रालयलाई राहत सामग्री हस्तान्तरण गरेको हो। 
यही चैत १५ गते बिहान ६:२१ बजे म्यानमारको राजधानी नोपिडको पूर्वशाही राजधानी सहर मन्डलेलाई केन्द्रविन्दु बनाएर ७.७ म्याग्निच्युडको भूकम्प गएको थियो। भूकम्पपीडितलाई राहतस्वरूप एक करोड ४० लाख रुपियाँ बराबरको राहत सामग्री सहयोग गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ। 
परराष्ट्र मन्त्रालयका सहसचिव तथा दक्षिणपूर्वी एसिया महाशाखा प्रमुख तापस अधिकारीले म्यानमारमा हालै गएको भूकम्पपीडितलाई डेढ करोड रुपियाँ बराबरको २७ टन खाद्यान्न सामग्री हस्तान्तरण गरिएको जानकारी दिनुभयो। नेपाल सरकार र निजी क्षेत्रसँग पहल गरेर खाद्यान्न, औषधी, लत्ताकपडा, सर्जिकल सामग्री, त्रिपाललगायतका सामग्री नेपाली राजदूतावासमार्फत सहयोग गरिएको उहाँले जानकारी दिनुभयो। 
नेपालले भूकम्पपीडितलाई सहयोगस्वरूप दाल, चामल, लिटो, स्लिपिङ ब्याग, चना, चिउरा, दालमोठ, साबुन, टुथपेस्ट, बिस्कुट चाउचाउ, झुल, भान्साका सामान, भाँडावर्तन, सेनेटरी प्याडलगायत सामग्री दिइएको छ। 
यसअघि २०१५ सालमा नेपालमा गएको भूकम्पको बेला म्यानमार सरकारले नेपाललाई खाद्यान्न सामग्री सहयोग गरेको थियो।
म्यानमारका लागि नेपाली राजदूत हरिश्चन्द घिमिरेले भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या करिब तीन हजार छ जना पुगेको जानकारी दिनुभयो। हालसम्म ५० वटा घर, ७० वटा पुल भूकम्पबाट क्षति भएको आँकडा प्राप्त भएको उहाँले जानकारी दिनुभयो। 
नेपाली भाषी म्यानमारका बासिन्दा १८ जनाको मृत्यु भएको र १५ जना हराइरहेको समेत उहाँले जानकारी दिनुभयो। म्यानमारमा एक लाख ५० हजार जना नेपाली भाषी रहेको उहाँले जानकारी दिनुभयो। 
म्यानमारको याङ्गुनमा ५० जना जति नेपाली नागरिक रहेको तर भूकम्पले ठुलो असर नपरेको दूतावासले जनाएको छ। सो भूकम्पमा परी झन्डै १० हजार जना घाइते भएको दूतावासले जनाएको छ। 
भूकम्पमा परी घाइते भएकालाई नेपाली विशेषज्ञ चिकित्सकसहितको मेडिकल टोलीले उपचार गरिरहेको समेत दूतावासले जनाएको छ। भूकम्पले झन्डै पाँच करोड मानिस बसोवास गर्ने म्यानमारको अधिकांश भागलाई प्रभावित पारेको छ। 
राजधानी नोपिडसहित अन्य छ क्षेत्र र राज्यमा उल्लेखनीय क्षति पुगेको दूतावासले जनाएको छ। करिब १५ लाख मानिस बसोवास गर्ने मन्डलेनजिक भूकम्पको केन्द्रविन्दु रहेका कारण बौद्ध गुम्बा, अस्पताल प्राचीन दरबार, घर, कार्यालय, मस्जिदमा ठुलो क्षति पुगेको जनाइएको छ। 
राहत सामग्री लिएर परराष्ट्र मन्त्रालयको दक्षिणपश्चिम डिभिजन प्रमुख तापस अधिकारीसहितको १६ सदस्यीय प्रतिनिधिमण्डल बिहीबार बिहान ३ बजे म्यान्मार पुगेको थियो। राहत सामग्री लिएर गएको नेपाल वायुसेवा निगमको चार्टर विमान बिहीबार बिहानै फर्किएको छ।

About Author

Advertisement