भारी मतले चुनाउ जिताउन एसकेएमको कसरत शुरू

IMG-20241020-WA0000

गान्तोक: सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) पार्टीको तत्वावधानमा सोरेङ-च्याखुङ समष्टिमा आगामी उप-चुनाउलाई केन्द्र गर्दै चुनावी रणनीति तयार पार्न समन्वयक सभा सम्पन्न भयो।सिङलिङस्थित एसकेएम उम्मेदवार आदित्य गोलेको निवास स्थानमा सम्पन्न सभाको अध्यक्षता सोरेङ-च्याखुङको लागि पार्टीद्वारा मनोनीत चुनाउ प्रचार समितिका समन्वयक तथा विधायक सञ्जित खरेलले गरेका थिए।सभामा चुनाउ प्रचार समितिका समन्वयक तथा मुख्यमन्त्रीका प्रेस सल्लाहकार सीपी शर्मा, मन्त्री छिरिङ ठेन्डुप भोटिया, विधायक सुदेश कुमार सुब्बा, विधायक रिक्सल दोर्जी भोटिया, मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङ, उम्मेदवार तथा पूर्व विधायक आदित्य गोले, पार्टीका विभिन्न प्रकोष्ठका पदाधिकारीगण, पार्टीका जिल्ला कार्यकारणी समिति, सीएलसी अध्यक्ष भानु सुब्बा, सोरेङ-च्याखुङ समष्टिका जिल्ला अनि ग्राम पञ्चायतगण र पार्टीका सक्रिय कार्यकर्ताहरुको उपस्थिति थियो।
समन्वय सभामा उपस्थित पार्टीका शीर्ष कार्यकर्ताहरुले आगामी उप चुनाउलाई लिएर रणनीति तयार पार्न विस्तृत रूपमा परिचर्चा गरियो। सोरेङ-च्याखुङ समष्टिमा उम्मेदवारको रूपमा पूर्व विधायक आदित्य गोलेलाई पुन: उम्मेदवार बनाएर पठाइदिएकोमा सर्वप्रथम पार्टी अध्यक्ष एवं मुख्यमन्त्री पीएस गोले साथै संसदीय बोर्डलाई सभामा कृतज्ञता प्रकट गरियो। उप चुनाउमा एसकेएम पार्टीको जीत निश्चित रहे तापनि पार्टीलाई भारी मतले जिताउन भावी रणनीति बनाइएको चुनाउ प्रचार समितिका समन्वयक एवं मुख्यमन्त्रीका प्रेस सल्लाहकार सीपी शर्माले बताए। लोकतन्त्रको ठूलो पर्व चुनाउलाई एसकेएम पार्टीले जहिल्यै पनि गम्भीरतापूर्वक लिने गरेको बताउँदै सभाध्यक्ष विधायक सञ्जित खरेलले उपस्थित सबैलाई उर्जा भर्दै हामी पार्टी कार्यकर्ताहरु एक भएर चुनावी मैदानमा उत्रिनु पर्छ भने। विधायक खरेलले अघि भने, गत चुनाउभन्दा अझै ज्यादा मत अन्तरले पार्टीको उम्मेदवारलाई जिताउनु पर्नेछ। पार्टी अध्यक्षले पार्टी कार्यकर्ताहरुलाई दिएको दायित्व र दिशानिर्देश अनुपालन गर्दै चुनाउमा उत्रिनुपर्छ। म पनि सोरेङ-च्याखुङ समष्टिमै बसेर कार्यकर्ताहरुसँग चुनाउ प्रचार प्रसार गर्नेछु। उनले अझ भने, सोरेङ-च्याखुङ समष्टिवासीले आदित्य गोले जस्तो युवा नेतालाई उम्मेदवारको रूपमा पाउनु भाग्यको कुरा हो। चुनाउ प्रचार प्रसारको निम्ति समय तालिका चॉंडै बनिने पनि विधायक खरेलले बताएका छन्। सभामा पार्टीका शीर्ष कार्यकर्ताहरुले चुनाउ विषयमाथि आ-आफ्नो सुझाउ र सल्लाह पनि राखेका थिए।

About Author

Advertisement