तमिलनाडुमा अत्याधुनिक रडार प्लान्ट निर्माण हुने
नयाँ दिल्ली: भारतको रक्षा क्षमतालाई थप सुदृढ बनाउने उद्देश्यले बेंगलुरुस्थित एयरोस्पेस कम्पनी डीसीएक्स सिस्टम्स र इजरायल एयरोस्पेस इन्डिजट्रीज (त्तईएआई) को एल्टा सिस्टम्सले तमिलनाडुमा अत्याधुनिक रडार निर्माण केन्द्रको सुरुवात गरेका छन्। तमिलनाडुको शूलागिरी औद्योगिक क्षेत्रमा यस प्लान्टको भूमिपूजन समारोह सम्पन्न भएको छ जसलाई भारतको ‘मेक इन इन्डिया’ अभियान अन्तर्गत एक महत्वपूर्ण उपलब्धिको रूपमा हेरिएको छ। सन् २०२७ को अप्रिलसम्ममा निर्माण सम्पन्न हुने लक्ष्य राखिएको यो प्लान्टले स्वदेशी रक्षा उत्पादन र प्रविधिमा आत्मनिर्भरता बढाउन ठूलो मद्दत पुर्याउने विश्वास गरिएको छ।
यो नयाँ सुविधा केन्द्रले अत्याधुनिक हवाई र जमिनमा आधारित रडार प्रणालीहरूको निर्माण, एकीकरण र परीक्षणको प्रमुख केन्द्रको रूपमा कार्य गर्नेछ। इजरायली कम्पनीका प्रमुख बोआज लेभीले यो परियोजना भारत र इजरायलबीचको बलियो रणनीतिक साझेदारीको उदाहरण भएको र यसले भारतीय उद्योगहरूसँगको सहकार्यलाई नयाँ उचाइमा पुर्याउने बताउनुभएको छ। छिमेकी राष्ट्रहरूबाट बढ्दो सुरक्षा चुनौतीका बीच आफ्नै देशमा अत्याधुनिक निगरानी प्रणाली उत्पादन हुनुले भारतीय सेनाको आवश्यकतालाई छिटो पूरा गर्न र भविष्यमा रक्षा निर्यात बढाउन समेत महत्वपूर्ण भूमिका खेल्ने विज्ञहरूको बुझाइ छ।










