नयाँ दिल्ली: रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले सेन्ट पीटर्सबर्गमा वैश्विक सञ्चारमाध्यमका पत्रकारहरूसँग कुराकानी गर्दै भारत र रूसबिचको सम्बन्ध दशकौँ पुरानो र एउटा विशेष रणनीतिक साझेदारीमा आधारित रहेको स्पष्ट पारेका छन्। अमेरिका वा अन्य पश्चिमी देशहरूले जतिसुकै दबाब दिए तापनि भारत र रूसको ऐतिहासिक मित्रतालाई डगमगाउन नसक्ने कुरामा उनले जोड दिए। प्रधानमन्त्री नरेंद्र मोदीको दृढ नेतृत्वको सराहना गर्दै पुटिनले मोदीमाथि कुनै पनि देशले दबाब दिनु अन्तर्राष्ट्रिय सम्बन्धका लागि हानिकारक हुने र भारतमाथि गरिएका यस्ता प्रयासहरू पूर्ण रूपमा निष्प्रभावी रहने दाबी गरे।
आगामी वर्षहरूमा दुई देशबिचको व्यापारिक सम्बन्धलाई अझ मजबुत बनाउँदै आपसी व्यापारलाई १०० अर्ब अमेरिकी डलरसम्म पुर्याउने लक्ष्य राखिएको छ, जसका लागि विशेष गरी ऊर्जा, औषधि (फार्मास्युटिकल) र परमाणु क्षेत्रमा नयाँ दीर्घकालीन परियोजनाहरू अघि बढाइँदै छ। सैन्य क्षेत्रमा पनि दुई देशबिचको साझेदारी उत्कृष्ट रहेको उल्लेख गर्दै पुटिनले रूसले भारतलाई अत्याधुनिक सुखोई-५७ फाइटर जेट प्रविधिमा सँगै काम गर्ने प्रस्ताव राखेको र ब्रह्मोस मिसाइल जस्ता परियोजनाहरूले यसको गहिराइलाई दर्शाउने बताए।
भारत र पाकिस्तानबिचको सीमा विवादको जटिलताबारे रूस राम्ररी जानकार रहेको बताउँदै पुटिनले पाकिस्तान पूर्ण रूपमा चीनको नियन्त्रणमा रहेको देश नभएको विचार व्यक्त गरे। पाकिस्तान एउटा ठुलो राष्ट्र भएको र उसको विभिन्न देशहरूसँग बहुआयामी सम्बन्ध रहेको उनको भनाइ थियो। भारत र चीनबिचको सम्बन्धलाई अत्यन्त संवेदनशील भन्दै पुटिनले यसमा तेस्रो पक्षको हस्तक्षेप हुनु राम्रो विचार नभएको र दुवै देशका नेताहरू आपसी मुद्दाहरू आफैँ सुल्झाउन सक्षम रहेको कुरा स्पष्ट पारे। आउँदो सेप्टेम्बर महिनामा नयाँ दिल्लीमा आयोजना हुने ब्रिक्स शिखर सम्मेलनमा भाग लिन राष्ट्रपति पुटिन भारत भ्रमणमा आउने कार्यक्रम तय भएको छ।









