खरसाङ: भारत नेपाल जनमैत्री साँस्कृतिक मञ्च कलकत्ताको आयोजनामा आगामी १० अनि ११ सेप्टेम्बर २०२२ को दिन कलकत्ताको भारतीय भाषा परिषद् भवनमा चौथो अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन हुने भएको छ। सन् २०११ सालमा स्थापित भारत नेपाल जनमैत्री साँस्कृतिक मञ्चले, सन २०१३ सालमा प्रथम अन्तर्राष्ट्रिय साहित्य सम्मेलनको सफल आयोजन कलकत्तामा गरिसकेको छ। २०१४ मा द्वितीय अनि २०१८ मा तृतीय साहित्य सम्मेलनमा भारत, नेपाल, बर्मा अनि भूटानका बरिष्ठ साहित्यकारहरुलाई सहभागिता जनाइसकेका छन्। गत १० जुलाई २०२२ को दिन कलकत्ताको मुकुन्दपुरस्थित उत्कल अपार्टमेन्टमा चौथो अन्तर्राष्ट्रिय साहित्य सम्मेलनको निम्ति प्रतिनिधि छनौट समितिको सभा, नारायण प्रसाद हुमागाईँको संयोजकत्वमा सम्पन्न गरिएको छ। उक्त सभामा भानेजसामका सभापति राजु पाठक, उप सभापति गोपाल भित्रीकोटी, मूलसचिव नरविक्रम थापा, संयुक्त नेपाली वेलफेयर ट्रस्टका चेयरम्यान खेमराज बराल अनि अगमसिंह गिरी संस्थानका मूलसचिव विकास कार्कीको विशेष उपस्थिति रहेको थियो। सभामा भारत,नेपाल,बर्मा, भुटानका साहित्यकारहरुलाई निमन्त्रणा गर्ने निर्णय गरियो। तर उक्त सम्मेलनमा क -कसले सहभागिता जनाउने छन्, उक्त घोषणा पछि गरिने भएको जानकारी प्राप्त भएको छ ।










