नयाँ दिल्ली: भारतीय टीमका पूर्व डिफेण्डर बीरेन्द्र लाकड़ालाई भारतीय जूनियर पुरुष हकी टीमको सहायक प्रशिक्षक नियुक्त गरिएको छ। हकी इण्डियाले यस सालको अन्तमा हुने जूनियर वर्ल्ड कप अघि लाकड़ालाई जिम्मेवारी सुम्पिएको छ। लाकड़ाले टीमका पूर्व साथी तथा जूनियर टीमका मुख्य प्रशिक्षक पीआर श्रीजेशसँग मिलेर काम गर्नेछन्। लाकड़ाले २०१०-मा भारतको निम्ति पदार्पण गरेका थिए अनि देशका सबैभन्दा विश्वसनीय डिफेण्डरको रूपमा अघि आएका थिए। उनले दुईवटा ओलम्पिक खेलहरू (लण्डन २०१२ र टोक्यो २०२०)-मा भारतको प्रतिनिधित्व गरे। टोक्योमा भारतले ऐतिहासिक काँस्य पदक जितेको थियो। यसको साथै उनी एशियन गेम्स र कमनवेल्थ गेम्समा पदक जित्ने टीमहरूका पनि हिस्सा रहे। भारतीय टीम २८ नोभेम्बरदेखि १० दिसम्बरसम्म चेन्नई र मदुरैमा हुने जूनियर पुरुष वर्ल्ड कपको तयारी गरिरहेको छ। लाकड़ाले टीमको रक्षापंक्तिलाई मजबूत गर्नको साथै खेलका अन्य पक्षहरूमा पनि काम गर्ने आशा छ। लाकड़ाले भने, यस्तो महत्त्वपूर्ण समयमा भारतीय जूनियर पुरुष टीमको हिस्सा बन्नु मेरो निम्ति ठूलो सम्मानको कुरा हो। भारतीय जर्सी लगाउनको निम्ति के गर्नु पर्छ भन्ने मलाई थाहा छ। अघिल्लो पीढ़ीका खेलाड़ीहरूलाई ठूलो मञ्चको निम्ति तयार गर्नमा सहायता पुऱ्याउन म उत्सुक छु। यसबाहेक श्रीजेश जस्ता दिग्गजसँग काम गर्नु एउटा रोमाञ्चक चुनौती हुनेछ। उनी टीमका साथी अनि प्रेरणाश्रोत रहेका छन्।










