खरसाङ: खरसाङ विधानसभा समष्टिको लागि भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको उम्मेद्वार अमर लामाले आज खरसाङमा आफ्नो नामांकन पत्र बुझाएका छन्। आफ्नोे नामांकन पत्र बुझाउन अघि उम्मेद्वार अमर लामा र भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय संस्थापक अध्यक्ष अनित थापाले आज बिहान खरसाङको गिध्द पहाडस्थित मन्दिरमा पूजा अर्चना गरेका थिए। उनको नामांकन भर्न अघि खरसाङको मोटर स्ट्याण्डमा सर्व धर्म पूजा गरिएको थियो। यस अवसरमा हिन्दु, बौध्द, मुस्लिम र इसाई धर्मका प्रमुखहरुले पूजा साथै प्रार्थना गरेका थिए। यस अवसरमा आफ्ना समर्थकहरुलाई भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय संस्थापक अध्यक्ष अनित थापा र उम्मेद्वार अमर लामाले सम्बोधन गरेका थिए।
उक्त पूजा अर्चनापछि खरसाङको मोटर स्ट्याण्डबाट भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको समर्थकहरुले विराट रैलीको आयोजना गरेको थियो। उक्त रैली हिल कार्ट रोड हुँदै महकुमा अस्पताल मोड हुँदै वर्ध्दमान रोड भएर पुनः मोटर स्ट्याण्ड आएपछि पंखाबारी रोड हुँदै खरसाङ महकुमा शासक कार्यालय माथिपट्टिको रोडसम्म पुगेको थियो। उक्त रैलीपछि भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको उम्मेद्वार अमर लामाले खरसाङ महकुमा शासक कार्यालयमा पुगेर खरसाङ महकुमा शासक प्रिया यादवलाई आफ्नो नामांकन पत्र बुझाएका छन्। अब उनको नामांकन पत्रको जाँच ७ अप्रेलको हुनेछ। नामांकन पत्र बुझाएर बाहिर आएपछि पत्रकारहरुलाई सम्बोधन गर्दै भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको उम्मेद्वार अमर लामाले चुनाव चिन्ह विषयमा बोल्दै आफ्नो स्पष्टीकरण दिएका छन्।









