खरसाङ: २८ नम्बर खरसाङ चिमनी देवराली समष्टिलाई लिएर भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको कर्मी सभा खरसाङको राज राजेश्वरी हलमा सम्पन्न भएको छ। उक्त कर्मी सभाको अध्यक्षता तथा प्रमुख अतिथिको रुपमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय संस्थापक अध्यक्ष तथा जीटीए प्रमुख अनित थापा उपस्थित रहेका थिए। उक्त सभालाई सबिना गिरीले सञ्चालन गरेका थिए भने स्वागत सम्भाषण समष्टिको उप सभापति एवं माध्यमिक शिक्षक संगठनको तर्फबाट अजित मोक्तानल राखेका थिए। २८ नम्बर समष्टि अन्तर्गत खरसाङ नगरपालिकाको एकदेखि दश नम्बर वार्डहरु र चिम्नी देवराली क्षेत्रलाई लिएर आयोजित कर्मी सभालाई विद्यार्थी महासंघको तर्फबाट दिपराज छेत्री, प्राथमिक शिक्षक संगठनको तर्फबाट प्रिया तामाङ, जीटीए कर्मचारी संगठन खरसाङ महकुमा समितिको सभापति साजन गहतराज र पिक अप म्यान एसोसिएसनको तर्फबाट विधान गुरुङले वक्तव्य राखेका थिए। यसै सभामा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय संस्थापक अध्यक्ष एवं जीटीए प्रमुख अनित थापा र भागोप्रमो केन्द्रीय महासचिव अमर लामाले पनि वक्तव्य राखेका थिए। यसै कर्मी सभामा खरसाङ नगरपालिकाको वार्ड नम्बर ३ बाट १५ जनाले भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा समर्थन जनाएका थिए। समर्थन जनाउने सबैलाई २८ नम्बर समष्टिको सभासद श्याम शेर्पा र केन्द्रीय महासचिव अमर लामाको बाहुलीबाट खदार्पण र पार्टीको झण्डा प्रदान गरेर स्वागत जनाएका थिए। यस कर्मी सभामा क्षेत्रीय सभासद श्याम शेर्पा, खरसाङ नगरपालिकाको चेयरम्यान ब्रिगेन गुरुङ, खरसाङ पञ्चायत समितिको सभापति अनु छेत्री, नारी शक्ति खरसाङ महकुमा समितिको सभापति सबिता कार्की, सचिव जैतुन निशा खातुन लगायत खरसाङ टाउन कमिटी र २८ नम्बर समष्टिको प्रतिनिधिहरु उपस्थित रहेका थिए। यस कर्मी सभा विषयमा पत्रकारहरुलाई सम्बोधन गर्दै क्षेत्रीय सभासद श्याम शेर्पाले यो सभा २८ नम्बर खरसाङ चिमनी देवराली समष्टिलाई लिएर आयोजना गरिएको जानकारी गराएका छन्। उनले यसै सभामा वार्ड नम्बर ३ बाट १५ जनाले भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा समर्थन जनाएको बताए।

सभासद श्याम शेर्पाले २८ नम्बर समष्टि खरसाङ नगरपालिकाको एक नम्बर देखि दश नम्बर वार्डहरु लगायत चिमनी देवराली क्षेत्रलाई लिएर गठित रहेको अनि सभामा २८ नम्बर समष्टिको प्रतिनिधिहरु उपस्थित रहेका जानकारी गराएका छन्। उनले २८ नम्बर समष्टिमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको पकड एकदम राम्रो रहेको बताएका छन्। उनले चुनाव पनि जित्ने आशा व्यक्त गरे।










