भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको स्थापना दिवसलाई लिएर सभा

IMG-20220902-WA0134.jpg

स्थापना दिवस पार्टीले उत्सवको रूपमा मनाउनेछ: अनित थापा

खरसाङ: आगामी ९ सितम्बरको दिन खरसाङमा पार्टीको दोस्रो स्थापना दिवस मनाउने तयारी विषय चर्चा गर्न भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका नेतृत्व, कार्यकर्ताको बैठक खरसाङको नयाँबजारको कम्युनिटी हलमा सम्पन्न भएको छ। सभामा केन्द्रीय रूपमा मनाइने स्थापना दिवस खरसाङमा मनाइने कुरा खरसाङ महकुमा समितिका अध्यक्ष सुवास प्रधानले जानकारी दिएका छन्। पार्टी अध्यक्ष अनित थापाको विशेष उपस्थितिमा बैठक सम्पन्न भएको थियो। अनित थापाले स्थापना दिवस मनाउने विषयमा भने, “भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको स्थापना दिवस उत्सवको रूपमा मनाउनुपर्छ। हामी आज जुन मञ्चमा उभिएर बोल्नु सक्दैछौं, हामीलाई मञ्चमा उभिनु लायक बनाउने पार्टीका कार्यकर्ताहरु हुन्। हामी पार्टीको उत्सव पार्टी कार्यकर्ताको सम्मान गरेर अनि मनाउनेछौं।” पार्टी कार्यकर्ताहरुलाई सम्बोधन गर्ने क्रममा उनले भने, “पहाडको राजनैतिक इतिहासमा सायद पहिलोपल्ट हुनुपर्छ कि पार्टी जन्मेको पहिलो वर्षमा नै पार्टीले दार्जीलिङ नगरपालिकाको चुनावमा ९ सीट हासिल गर्नु सक्यो अनि जीटीए सभामा आफ्नो बोर्ड बनायो। यो हाम्रो ठूलो उपलब्धि हो।”
उनले सबैलाई आग्रह गर्दै भने, ” तर जीतले मात्र हुँदैन। हाम्रो नयाँ सोच अनि विचारलाई अनन्तकालसम्म लैजानु पार्टी मजबूत भएको हुनुपर्छ। पार्टीलाई अनन्तकालसम्म बचाउनु हामीले स्थानीय स्तरमा जनताको मन जित्नु सक्नुपर्छ।”
पहाडमा बीजीपिएमले जीत हाँसिल गर्यो तर हाम्रो जितलाई कार्यमा परिणत गर्नु नदिनु धेरै राजनैतिक चालहरु चल्दै गरेको उल्लेख गर्दै उनले भने, ” यो भएन, त्यो भएन भन्नेहरु धेरै निस्केका छन् अहिले पहाडमा। निर्वाचित विधायक धरी आफ्नो काम नगरेर बीजीपिएमको पछि लागेको छ। हामी सिस्टम ठीक गर्नु काम गर्दैछौं तर उनीहरू हाम्रो भूल कोट्याउनुपटि लागेका छन्। बरु यसो गर्यो भने काम ठीक हुन्छ भनेर सुझाव राख्नु नि? दोष देखाउनु ठूलो कुरा होइन तर काम कसरी अघि लैजानु त्यो कुरामा सुझाव दिए म सुझावलाई कार्यमा परिणत गर्नेछु।”
सभासद रतन थापाले जानकारी दिँदै भने कि खरसाङ महकुमा अधीनस्थ समष्टिका पार्टीका कार्यकर्ता अनि समर्थकहरू भेला हुनेछन् केन्द्रीय समारोहमा। पार्टी कार्यालयमा बिहान झण्डा उत्तोलन् गरेर समारोह आरम्भ हुनेछ। ११ बजेदेखि खरसाङ बजार परिक्रमा गरिने कार्यक्रम रहनेछ। जुलुस मन्टिभिएट ग्राउण्डमा गएर स्थापना दिवस समारोहमा समावेश हुनेछ। कार्यक्रमलाई पार्टीका अध्यक्ष अनि महासचिवले सम्वोधन गर्नेछन्। समारोहमा पार्टीका कार्यकर्तालाई सम्बर्द्धना गरिनेछ।

त्यसरी नै कालेबुङ जिल्ला समितिले कालेबुङमा अनि दार्जीलिङ महकुमा समितिले दार्जीलिङमा स्थापना दिवस मनाउने छन्।

About Author

Advertisement