भारतले रुसी तेल खरिद बन्द गर्ने प्रतिबद्धता जनायो: ह्वाइट हाउस

WHHO_Grounds-and-Staff_20250624_KGraczyk_130_1

न्युयोर्क: अमेरिकी राष्ट्रपतिको आधिकारिक निवास तथा कार्यालय ह्वाइट हाउसले भारतसँग भएको नयाँ व्यापार सम्झौताको स्वागत गर्दै भारतले रुसबाट तेल खरिद बन्द गर्ने प्रतिबद्धता जनाएको जानकारी दिएको छ। साथै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकाका प्रमुख क्षेत्रमा ५०० अर्ब अमेरिकी डलर लगानी गर्ने सहमति व्यक्त गरेका छन्।
ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेविटले मंगलबार पत्रकारसँगको कुराकानीमा राष्ट्रपति डोनाल्ड ट्रम्प र प्रधानमन्त्री मोदीबीच प्रत्यक्ष संवादपछि यो महत्वपूर्ण व्यापार सम्झौता भएको बताइन्। उनका अनुसार भारतले रुसबाट तेल नकिन्ने मात्र होइन, अमेरिकाबाट तेल खरिद गर्ने प्रतिबद्धता पनि जनाएको छ। उनले भेनेजुएलाबाट तेल खरिदको सम्भावना समेत उल्लेख गरिन्, जसबाट अमेरिका र अमेरिकी जनतालाई प्रत्यक्ष लाभ पुग्ने बताइयो।
लेविटका अनुसार प्रधानमन्त्री मोदीले अमेरिका भित्र यातायात, ऊर्जा र कृषि उत्पादन क्षेत्रलाई समेट्ने गरी ५०० अर्ब डलर लगानी गर्ने प्रतिबद्धता जनाएका छन्। उनले यसलाई राष्ट्रपति ट्रम्पको नेतृत्वमा सम्पन्न “उत्कृष्ट व्यापार सम्झौता” भनेर वर्णन गरिन्।
यसअघि फक्स न्युजसँगको अन्तर्वार्तामा लेविटले सोमबार दुवै नेताबीच “अत्यन्त सकारात्मक संवाद” भएको र त्यसपछि द्विपक्षीय व्यापार सम्झौता घोषणा गरिएको बताएकी थिइन्।
यसैबीच, अमेरिकी व्यापार प्रतिनिधि जैमीसन ग्रीरले ‘सीएनबीसी स्क्वाक बक्स’ कार्यक्रममा सम्झौताअन्तर्गत भारतले अमेरिकी औद्योगिक तथा कृषि उत्पादन, जस्तै फलफूल र तरकारी मा भन्सार शुल्क घटाएर लगभग शून्य बनाउनु अमेरिकाका लागि “ठूलो जित” भएको बताए। उनका अनुसार हाल भारतमा औद्योगिक वस्तुमा औसत भन्सार शुल्क करिब १३.५ प्रतिशत छ।
ग्रीरले ९८-९९ प्रतिशत वस्तुमा भन्सार शुल्क शून्य नजिक पुर्‍याइने जानकारी दिए। उनले केही संवेदनशील क्षेत्रमा भारतको सुरक्षात्मक नीति कायम रहने उल्लेख गरे पनि मेवा, मदिरा, स्पिरिट, फलफूल र तरकारीजस्ता अधिकांश वस्तुमा लगभग शून्य भन्सार शुल्क लाग्ने स्पष्ट पारे। उनले यस सम्झौताले दुवै देशलाई ठूलो अवसर प्रदान गर्ने बताए।

About Author

Advertisement