दाम्बुला (श्रीलंका): आयोजक श्रीलंकाले आइतवार पहिलोपल्ट महिला एशिया कप क्रिकेट टुर्नामेण्टको खिताब जित्यो। फाइनलमा श्रीलंकाले गत च्याम्पियन भारतलाई ८ विकेटले पराजित गऱ्यो। रणगिरी दाम्बुला अन्तर्राष्ट्रिय स्टेडियममा श्रीलंकाई टीमले १६६ रनको लक्ष्यलाई खेदो गर्दै १८.४ ओभरमा २ विकेटमा १६७ रन बनाएर सजिलै म्याच जित्यो। श्रीलंकाको शुरुवात असल रहेन अनि ओपनर विश्मी गुणारत्ने केवल १ रन बनाएर आउट भइन्। केवल ७ रनमा पहिलो विकेटको पतनपछि कप्तान चमारी अथापत्थुले हर्षिता समराविक्रमासँग मिलेर ईनिंग्स संगाल्न शुरु गरिन्। यी दुईले दोस्रो विकेटको निम्ति ८७ रनको पार्टनरशीप गरिन्। अथापत्थू १२औं ओभरको अन्तिम बलमा आउट भइन् अनि उनले ४३ बल खेलेर ९ वटा चौका र २ वटा छक्काको साथ ६१ रन बनाइन्। त्यसपछि समराविक्रमाले काविशा दिलहारी (१६ बलमा अविजित ३०)-सँग मिलेर टीमलाई जीतसम्म पुऱ्याइन्। समराविक्रमाले ६१ बल खेलेर ६ वटा चौका र २ वटा छक्काको साथ अविजित ६९ रन बनाइन्। यसरी दिलहारीले २ वटा छक्का र एउटा चौका लगाइन्।
यसअघि म्याचमा टस जितेर पहिला ब्याटिंग गर्ने भारतीय टीमले २० ओभरमा ६ विकेट गुमाएर १६५ रन बनायो। ओपनर स्मृति मन्धनाले भारतलाई तेज शुरुवात दिलाइन्। मन्धनाले ४७ बल खेलेर १० वटा चौकाको साथ सर्वाधिक ६० रन बनाइन्। मन्धनाले शेफाली वर्मा (१६ रन)-सँग पहिलो विकेटको निम्ति ४४ रनको पार्टनरशीप गरिन्। भारतले पछिबाट शेफाली, उमा छेत्री (०९) र कप्तान हरमनप्रीत कौर (११) – लाई लगातार अन्तरालमा गुमायो। कप्तानको पतनपछि मन्धनाले जेमिमा रोड्रिग्ससँग मिलेर चौथो विकेटको निम्ति ४१ रन जोड़िन्। त्यसपछि भारतले रोड्रिग्स र मन्धनाको विकेट गुमायो। अन्तिम ओभरहरूमा रिचा घोषले १४ बलमा ४ वटा चौका र एउटा छक्काको साथ ३० रन बनाएर भारतलाई सम्मानजनक स्कोरसम्म पुऱ्याइन्। यसरी जेमिमाले २९ रनको योगदान दिइन्। उनले १६ बल खेलेर ३ वटा चौका र एउटा छक्का लगाइन्।

श्रीलंकाई बलरहरूमा काविशा दिलहारीले सर्वाधिक २ विकेट हासिल गरिन्। हर्षिता समराविक्रमालाई प्लेयर अव् द म्याच चयन गरियो।









