भारतद्वारा नेपालको राष्ट्रिय परिचयपत्र मान्यतासम्बन्धी प्रस्तावमा प्राविधिक विवरण माग

2703dcd0-ad66-402f-9034-9945668c3ac7

काठमाडौँ: नेपाल र भारतबिच नागरिकको आवतजावतलाई थप सहज र सुरक्षित बनाउने उद्देश्यका साथ नेपाल सरकारले अघि सारेको प्रस्तावमा भारतले प्राविधिक चासो देखाएको छ। नेपालले आफ्नो राष्ट्रिय परिचयपत्रलाई भारत भ्रमणका लागि वैध पहिचान पत्रका रूपमा स्वीकार गर्न भारतसँग अनुरोध गरेपछि काठमाडौँस्थित भारतीय दूतावासका प्रतिनिधिहरूले यसको प्राविधिक तथा सुरक्षा प्रविधिसम्बन्धी विवरण माग गरेका हुन्।
​नेपालको अध्यागमन विभागका अनुसार जेठ/असार महिनातिर भारत सरकारलाई पठाइएको औपचारिक प्रस्तावमा हवाई यात्रा तथा सीमा पार आवतजावतका क्रममा नेपाली नागरिकको राष्ट्रिय परिचयपत्रलाई मान्यता दिन आग्रह गरिएको थियो। हाल भारतले नेपाली नागरिकको पहिचानका लागि मुख्य रूपमा राहदानी र नागरिकता प्रमाण पत्रलाई मात्र मान्यता दिँदै आएको छ।
​परम्परागत कागजी नागरिकताको तुलनामा राष्ट्रिय परिचयपत्रमा औँठाछाप, अनुहारको तस्बिर र आँखाको नानीको जैविक विवरण (बायोमेट्रिक) समावेश हुने भएकाले यो बढी सुरक्षित र आधुनिक मानिन्छ। नेपालमा हालसम्म ४५ लाखभन्दा बढी नागरिकले राष्ट्रिय परिचयपत्र प्राप्त गरिसकेका छन् भने करिब २ करोड मानिसले यसका लागि दर्ता गराइसकेका छन्। भारतले यस कार्डलाई मान्यता दिएमा दुई देशबिचको खुला सीमा व्यवस्था अझ सुरक्षित, पारदर्शी र व्यवस्थित हुने अपेक्षा गरिएको छ।

About Author

Advertisement