भारतको प्राचीन शिक्षा प्रणाली अत्यन्त विकसित थियो: असमका राज्यपाल

00-1-Assam-Governor-1

गुवाहाटी: असमका राज्यपाल लक्ष्मण प्रसाद आचार्यले २९ जनवरीका दिन सरुसजाई स्टेडियममा विद्या भारती पूर्वोत्तर क्षेत्रद्वारा आयोजित तीन दिने ‘समुत्कर्ष महाशिविर २०२५’ को उद्घाटन गरे। उद्घाटन भाषणमा राज्यपाल आचार्यले भने, “शिक्षा जीवनको सार हो। यसले न केवल व्यक्तिको भविष्यलाई आकार दिन्छ, बरु राष्ट्रको प्रगति गर्न पनि महत्त्वपूर्ण भूमिका खेल्छ। मेरो विश्वास छ कि शिक्षाको उद्देश्य जिम्मेवार नागरिकहरू तयार गर्नु हो।” राज्यपालले सभ्य समाज निर्माणमा शिक्षाको महत्त्वबारे चर्चा गर्दै अरस्तुको विचार उल्लेख गरे, “सभ्य समाज असल व्यक्तिहरूबाट बन्छ, जो असल नागरिक बन्छन्।” उनले सभ्यताको जग मजबुत बनाउन शिक्षा प्रणाली बलियो हुनुपर्ने बताए। उनले भारतको प्राचीन शिक्षा प्रणाली अत्यन्त विकसित रहेको उल्लेख गर्दै भ, ‘‘यो भारतीय संस्कृति र ज्ञानमा आधारित थियो। प्राचीन भारतमा सिकाइको मुख्य माध्यम गुरुकुल प्रणाली थियो, जहाँ शिक्षक र विद्यार्थी सँगै बस्थे, जसले ज्ञान आदान-प्रदान तथा समग्र विकासमा सहायता पुर्‍याउँथ्यो। शिक्षाको प्रमुख उद्देश्य बौद्धिक र मानसिक क्षमताहरूको वृद्धि गर्दै जीवनका विभिन्न पक्षहरूको समझ हासिल गर्नु थियो।‘‘ प्राचीन भारतमा नालन्दा, तक्षशिला, विक्रमशिला र उज्जयिनी जस्ता प्रसिद्ध शिक्षाकेन्द्रहरू थिए, जहाँ विज्ञान, गणित, दर्शन, चिकित्सा, साहित्य तथा अन्य विषयहरूको शिक्षा दिइन्थ्यो। भारतको पारम्परिक शिक्षा प्रणाली उच्च विचार, आत्म-साक्षात्कार र समाज सेवा केन्द्रित थियो। यो समृद्ध धरोहर आज पनि लाखौँ मानिसलाई प्रेरित गरिरहेको छ। राज्यपाल आचार्यले विद्या भारतीलाई विद्यार्थीहरूलाई सबै क्षेत्रहरूमा अगाडि बढ्न सहयोग गर्ने, आलोचनात्मक सोचको विकास गर्ने र दयालुता सिकाउने कार्यका लागि प्रशंसा गरे। साथै, उनले युवाहरूलाई विश्वका चुनौतीहरूका लागि सक्षम बनाउन शिक्षामा प्रविधि समावेश गर्नुपर्ने आवश्यकतामा पनि जोड दिए।

About Author

Advertisement