इन्दौर: न्यूजील्याण्डले आइतवार तेस्रो वनडे इण्टरनेशनल क्रिकेट म्याचमा भारतलाई ४१ रनले पराजित गरी ३ वटा म्याचको सीरीज पनि २-१-ले जित्यो। यो न्यूजील्याण्डको भारतीय माटोमा पहिलो द्विपक्षीय वनडे सीरीज जीत हो। म्याचमा न्यूजील्याण्डले पहिला ब्याटिंग गर्दै ५० ओभरमा ८ विकेट गुमाएर ३३७ रन बनाएको थियो अनि ३३८ रनको विशाल लक्ष्यलाई पीछा गर्दै भारतको निम्ति विराट कोहलीले अन्तसम्म लड़ाइँ गरे पनि कुनै फाइदा भएन। कोहलीले आज वनडे करियरमा आफ्नो रेकर्ड ५४औं शतक बनाए तर शीर्ष क्रमका अन्य ब्याटरहरूका निराशाजनक प्रदर्शनले गर्दा भारतले हारको सामना गर्नु पऱ्यो। भारत ४६ ओभरमा २९६ रन बनाएर अलआउट भयो। कोहलीले आइतवार १०८ बल खेलेर १० वटा चौका र ३ वटा छक्काको साथ १२४ रन बनाए। भारतको शुरुवात खराब रह्यो अनि ७१ रनमै ४ विकेटको पतन भइसकेको थियो। कप्तान शुभमन गिलले २३, रोहित शर्माले ११, श्रेयस अय्यरले ३ र केएल राहुलले केवल १ रन बनाए। त्यहाँबाट कोहलीले नितिश कुमार रेड्डी र हर्षित राणासँग महत्त्वपूर्ण पार्टनरशीप गरे पनि टीमलाई जिताउन सकेनन्। कोहलीले रेड्डीसँग मिलेर पाँचौं विकेटको निम्ति ८८ रनको पार्टनरशीप गरे। रेड्डीले २ वटा छक्का र २ वटा चौकाको साथ ५७ बलमा ५३ रन बनाए। कोहलीले पछिबाट राणासँग मिलेर सातौं विकेटको निम्ति ९९ रनको पार्टनरशीप गरे। राणाले ४ वटा छक्का र ४ वटा चौकाको साथ ४३ बलमा ५२ रन बनाए। न्यूजील्याण्डका बलरहरूमा जेक फोल्क्स र क्रिस्टियन क्लार्कले ३-३ विकेट लिए। यसअघि टस हारेर पहिला ब्याटिंग गर्दै न्यूजील्याण्डले डेरिल मिचेल र ग्लेन फिलिप्सको शतकको सहायताले ३३७ रनको मजबूत स्कोर बनायो। मिचेलले १३१ बल खेलेर १५ वटा चौका र ३ वटा छक्काको साथ १३७ रन बनाए। यो उनको जारी सीरीजमा लगातार दोस्रो शतक हो। यसरी फिलिप्सले ८८ बलमा ९ वटा चौका र ३ वटा छक्काको साथ १०६ रन बनाए। भारतीय बलरहरूमा अर्शदीप सिंह र हर्षित राणाले सर्वाधिक ३-३ विकेट हासिल गरे। केवल ५ रनमा २ विकेटको पतनपछि मिचेलले मोर्चा सम्हाले। उनले पहिला विल यंग (३० रन) सँग मिलेर तेस्रो विकेटको निम्ति ५३ रन जोड़े। मिचेलले पछिबाट फिलिप्ससँग मिलेर चौथो विकेटको निम्ति २१९ रनको म्याच जिताउने पार्टनरशीप गरे। कप्तान माइकल ब्रेसवेलले अन्तिम ओभरहरूमा तेजीको साथ रन बनाउँदै टोलीलाई मजबूत स्कोरसम्म पुऱ्याए। ब्रेसवेलले ३ वटा छक्का र एउटा चौकाको साथ १८ बलमा अविजित २८ रन बनाए। क्रिस्टियन क्लार्कले ११ र जेक फोल्क्सले १० रनको योगदान दिए।









