गान्तोकः भारतीय जनता पार्टी सिक्किम (भाजपा) ले राज्यस्तरीय समितिको विस्तार गरेको छ। पार्टीले केन्द्रिय अध्यक्ष जेपी नड्डा, केन्द्रका अन्य नेताहरू साथै सिक्किम प्रभारी डाक्टर दिलिप जैसवालको परामर्शमा राज्य समितिको विस्तारसंगै स्पेशल इन्भाइटीहरूको नियुक्ति गरेको छ। गत ६ अप्रेलका दिन भारतीय जनता पार्टीमा सामेल भएका सिब्ल्याक संयोजक छितेन टाशी भोटियालाई भाजपा सिक्किमले मुख्य सल्लाहकार बनाएको छ। डाक्टर कमल गुरुङ र कर्मा पी. भोटियालाई सल्लाहकार बनाइएको छ। मल्ली निर्वाचन क्षेत्रकी विधायक फरवन्ती तामाङसहित सुदिप प्रधान, दिनेशचन्द्र नेपाल र पीएस लिम्बू भाजपा राज्य समितिका उपाध्यक्ष चुनिएका छन्।
पार्टीले भरत दुलाल र अर्जुन राईलाई महासचिव बनाएको छ भने भाजपा सिक्किमका पूर्व अध्यक्ष पाल्देन वाङ्चुक खाङसार्पा र नौजना विधायकसहित कुल १२ जनालाई स्पेशल इन्भाइटीको पदमा राखेको छ। यस बाहेक कुल नौजनालाई भाजपाले राज्य सचिवको रूपमा नियुक्त गरेको छ।
डाक्टर कमल अधिकारी, डाक्टर मिरा अङ्मु भोटिया, नविन भट्टराई, सोनिका लेप्चासहित कुल सातजना भाजपा सिक्किमको प्रवक्ता बनेका छन्। पार्टीले आठजनालाई विभिन्न मोर्चाको अध्यक्ष पदमा नियुक्त गरेको छ भने पूर्व प्रवक्ता डाक्टर राजु गिरी सहित छजनालाई संयोजक बनाएको छ। भाजपा सिक्किमका अध्यक्ष डीआर थापाको हस्ताक्षरमा पार्टीले जारी गरेको राज्यस्तरीय कार्यकारी समितिको सूचीमा विधायक वाईटी लेप्चाले कुनै पद प्राप्त गरेका छैनन्।
-हिस











