खरसाङ: बंगालमा दुईवटा राजनीतिक पार्टीहरु भारतीय जनता पार्टी र तृणमूल कांग्रेसको राजनीति मात्र चलिरहेको र यी दुईवटा राजनीतिक पार्टीहरुबाहेक तेस्रो विकल्पको रूपमा माकपा चुनावमा लडिरहेको पूर्व सांसद एवं सीपीआईएमको दार्जिलिङ जिल्ला सचिव समन पाठकले खरसाङमा बताएका छन्। उनले पत्रकारहरुलाई सम्बोधन गर्दै भने, बंगालको प्रत्येक विभाग नै भ्रष्ट छन्। यस्तो अप्रशासन छ जसको विरोधमा हामी खडा भएका छौँ। अर्कोतिर भारतीय जनता पार्टी छ जसले जाति र धर्मको नाममा राजनीति गरिरहेका छन् र अराजकता फैलाईरहेका छन्। हामी वामपन्थीहरु यसपाली निर्णायक लडाईमा छौं। यसपाली बंगालमा भाजपा र तृणमूल कांग्रेसको पूर्ण सरकार गठन हुँदैन र यसमा हामी निर्णायक भूमिकामा रहनेछौं। हामी एन्टी बीजेपी र एन्टी तृणमूलका शक्तिहरुसित कुरा गर्ने र लडाई लड्ने योजना छ। हामी यी दुई दलहरुको विरोधमा रहेका दलहरुसित मिलेर काम गर्न तयार छौँ।’
समन पाठकले अघि भने, पहाडमा रहेको तीनवटा विधानसभा समष्टिमध्ये सीपीआईएमले दार्जिलिङ र खरसाङमा आफ्नो उम्मेद्वारहरु उठाएका छौं। दार्जिलिङ विधानसभा समष्टिमा आफ्नो गठबन्धन दल ईण्डियन गोर्खा जनशक्ति फ्रण्टको केन्द्रीय संयोजक अजय एडवर्ड्सलाई समर्थन गर्ने घोषणा गर्दछौं। किनभने अजय एडवर्ड्स र ईण्डियन गोर्खा जनशक्ति फ्रण्ट एन्टी भाजपा र एन्टी तृणमूल हुन्। त्यसैले हामीले दार्जीलिङमा अजय एडवर्ड्सलाई सघाउने निर्णय गरेका हौं।’
पाठकले अझ भने, सीपीआईएमले राज्यमा १९७ सिटमा उम्मेदवारहरु उठाएका छन्। हाम्रो लडाई जारी छ। भाजपाले जनतालाई लट्टाउने काम मात्र गरेको छ। गोर्खाल्याण्डको नामदेखि लिएर स्थायी राजनैतिक समाधान, ११ जात गोष्ठीलाई जनजाति मान्यता साथै इन्टरलोक्युटरसम्म केवल जनतालाई लट्टाउने झुकाउने काम मात्र गरेको छ। झूटको राजनीति गरेर साथै सपनाको खेती गरेर लट्टाउने काम मात्र गरेको छ।’
उनले एसआईआरको विषयमा बोल्दै भने, एसआईआरलाई लिएर माकपाले लिगल सेल गठन गरेर काम गरिरहेको छ। एसआईआर विषयमा माकपाले जनताको लागि धेरै आवाज उठाउने काम गरेको छ। एसआईआरमा धेरैको नाम डिलिट भएको छ भने गैर मतदाताहरुको भोटले नै मुख्यमन्त्री बनेको हो त ?’
उनले यस विषयमा झूट र आश्वासनको राजनीति बेसी देखियो भनी बताएका छन्।









