खरसाङ: भारतीय जनता पार्टीले यसपालीको पश्चिम बंगाल विधानसभा चुनावको लागि दोस्रो लिस्ट जारी गरेको छ। यसमा विशेष गरेर पहाडको तीनवटा क्षेत्रमा रहेको विधानसभा समष्टिहरुको लागि पनि आफ्नो उम्मेद्वारहरुको घोषणा गरेको छ। यसमा दार्जिलिङ सिटबाट भाजपाले गोर्खा जनमुक्ति युवा मोर्चाको अध्यक्ष नोमन राईलाई उम्मेद्वार बनाएको छ। त्यसरी नै कालेबुङबाट भारतको पूर्व राष्ट्रिय हक्की खेलाडी एंव पूर्व कप्तान भरत छेत्रीलाई आफ्नो उम्मेद्वार बनाएको छ। यस क्रममा खरसाङबाट भाजपाले आफ्नै पार्टीका दार्जिलिङ जिल्ला महासचिव सोनाम लामालाई टिकट दिएर उम्मेद्वार बनाएको छ। पहाडको तीनवटा विधानसभा सिटहरुमा भारतीय जनता पार्टीको सोझै टक्कर पहाडको सत्तारुढ दल भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको उम्मेद्वारहरुसित हुने तय देखिएको छ। दार्जिलिङमा भारतीय जनता पार्टीको उम्मेद्वार नोमन राई र भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको उम्मेद्वार बिजयकुमार राईसित देखिएको छ। त्यसरी नै कालेबुङमा भाजपाको उम्मेद्वार भरत छेत्रीको टक्कर वर्तमान विधायक एंव भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय उपाध्यक्ष रुदेन सादा लेप्चासित हुने भएको छ। यसको साथै खरसाङ विधानसभा समष्टिमा भाजपाको दार्जिलिङ जिल्ला महासचिव सोनाम लामा र भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय महासचिव अमर लामासित टक्कर हुने भएको छ। खरसाङ विधानसभा समष्टिमा भाजपा र भागोप्रमोको महासचिव -महासचिवमाझ टक्कर दिने भएको छ।









