कुचबिहार: शुक्रबार बिहान एउटै ग्राम पञ्चायतका दुई भाजपा सदस्यहरूको घर अगाडि बमले भरिएको झोला फेला परेको छ। घटना कुचबिहारको खवैडांगा ग्राम पञ्चायतको बुथ नम्बर २८७ र २८८ मा भएको हो। घटनाले पुरै इलाकामा सनसनी फैलाएको छ, खबर पाएलगत्तै पुण्डीबारी पुलिस थाना घटनास्थलमा पुगेर बम बरामद गरेको छ । कथित रूपमा, बुथ नम्बर २८७ मा पञ्चायत चुनावमा भाजपा कार्यकर्ता र भाजपा उम्मेदवार अभिजीत सरकारको घर अगाडि कसैले बमको झोला छोडेको थियो। सोही समयमा सोही ग्राम पञ्चायतको बुथ नम्बर २८८ का अर्का भाजपा कार्यकर्ता मनोज रायको घर अगाडि पनि यस्तै घटना भएको थियो ।

मनोज रायले पञ्चायत चुनावमा भाजपाका लागि काम गरेका थिए। निर्वाचनको नतिजा सार्वजनिक भएदेखि नै उनको घरमा ढुंगा हानाहान हुने गरेको गुनासो छ। आज बिहान घर अगाडि बमले भरिएको झोला फेला परेपछि स्थानीयमा त्रासको अवस्था सिर्जना भएको छ।











