खरसाङ: खरसाङ नगरपालिका अन्तर्गत पर्ने वार्ड नम्बर एकदेखि वार्ड नम्बर बीससम्म भएका स्वनिर्भर दलहरुका सदस्याहरुसँग भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको सभा सम्पन्न भएको छ। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका केन्द्रीय अध्यक्ष अनित थापाले दिएको परामर्शलाई अघि बढाउँदै खरसाङको नयाँ बजारस्थित कमिटी हलमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा टाउन कमिटी नारी शक्तिकोे तत्वधानमा सभा सम्पन्न भयाे। खरसाङ टाउन कमिटी अध्यक्ष राजु शर्माको अध्यक्षतामा सम्पन्न भएको यस सभामा स्वनिर्भर दलहरुका सदस्याहरुलाई ग्रुप सञ्चालन गर्दा हुने समस्याहरूको समाधानकोे निम्ति सहयोग पुर्याउन साथै उनीहरूलाई स्वनिर्भर दलको माध्यमले आत्मनिर्भर बनाउने उद्देश्यले राखिएको थियो। खरसाङ टाउन कमिटी नारी शक्तिका अध्यक्ष देवकी सुब्बा प्रधानद्वारा सञ्चालित यस सभामा खरसाङ नगरपालिकाका उपाध्यक्ष तथा खरसाङ जनसम्पर्क अधिकारी सुभाष प्रधान, २८ नम्बर खरसाङ चिम्नी देउराली समष्टिको सभासद श्याम शेर्पा, भागोप्रमो केन्द्रीय समितिका सदस्य तथा खरसाङ महकुमा क्षेत्रका चुनाव प्रभारी समीर दीप ब्लोन, खरसाङ नगरपालिकाको बड़ा बाबु सुरेन कटुवाल, खरसाङ महकुमा समिति नारी शक्तिका अध्यक्ष तथा खरसाङ नगरपालिका क्षेत्रका चुनाव प्रभारी सबिता कार्की, खरसाङ टाउन कमिटीका मूल सचिव बीरबल पाख्रिन आदिले वक्तव्य राखेका थिए। सभामा स्वनिर्भर दलहरुकोे तर्फबाट उपस्थित भएका खरसाङ गोर्खे हाटका सदस्या सरिता तामाङ अनि वार्ड नम्बर बीस ओलिभ स्वनिर्भर दलका सदस्या संध्या थापाले आआफ्नो अनुभव साझा गरेका थिए भने सभाका सभााध्यक्ष राजु शर्माले अफ़नो सम्भाषणसँगै सभा समाप्तिकाे घोषणा गरेका थिए।








