सिलगढी: मुम्बईका प्रसिद्ध डॉली चायवाला यहाँ आएका थिए, तर उनको चर्चित चियाको चर्चा पनि शिलिगुडीको नेताजी केबिन को चियासामु फिक्का सावित भयो। एक निजी व्यावसायिक संस्थाद्वारा आयोजित बिजनेस अवार्ड समारोहमा नेताजी केबिनले सबैलाई पछि पार्दै आफ्नो उत्कृष्टता प्रमाणित गर्यो। आयोजकहरूले पनि खुला रूपमा नेताजी केबिनको श्रेष्ठतालाई स्वीकार गरे।
सर्वश्रेष्ठको उपाधि जितेपछि प्रणवेन्दु बागचीले यो सबै भगवानको आशीर्वाद भएको बताए। मानिसहरूको मायाले नै आफूलाई यस स्थानसम्म पुर्याएको उनले उल्लेख गरे। उनले आफ्ना सहकर्मीहरूको अथक परिश्रम र समर्पणलाई पनि यस सफलताको श्रेय दिए। उनका अनुसार आज नेताजी केबिनको चिया विश्व मञ्चमा परिचित भइसकेको छ र विदेशीहरूले समेत यसको उच्च प्रशंसा गरेका छन्।
यस विषयमा प्रतिक्रिया दिँदै उनले भने, “मैले त केवल प्रयास गरेको हुँ। मेरा बुबा–आमाको आशीर्वादले नै मलाई यहाँसम्म ल्याएको हो। यति धेरै मानिसहरूको बीचमा सर्वश्रेष्ठ बन्न पाउनु मेरा लागि अत्यन्त गर्व र खुसीको कुरा हो।” आफ्नी छोरी देबलीना बागचीसँगै पुरस्कार ग्रहण गर्दै उनले यो क्षण आफ्नो लागि विशेष रहेको बताए। “मेरो बुबाले मलाई अगाडि बढाइरहनुभएको छ, र म आफ्नी छोरीलाई साथ लिएर अगाडि बढ्दै छु,” उनले भने।
उनले यस प्रकारका पुरस्कार पहिले पनि प्राप्त गरिसकेको बताए तापनि हरेक सम्मान आफ्ना लागि विशेष हुने उल्लेख गरे। “नेताजी केबिनकै कारण आज हाम्रो परिचय संसारभर फैलिएको छ। भविष्यमा भारतलाई सर्वश्रेष्ठ बनेको देख्न पाउनु नै मेरा लागि सबैभन्दा ठूलो पुरस्कार हुनेछ,” उनले भने।









