भद्रपुर विमानस्थलमा बुद्ध एयरको एटीआर–७२ जहाज दुर्घटनाग्रस्त, सबै यात्रु सकुशल

IMG-20260102-WA0122

चन्द्रगढी: झापाको भद्रपुर नगरपालिका–८ स्थित चन्द्रगढी (भद्रपुर) विमानस्थलमा शुक्रबार राति बुद्ध एयरको एक जहाज अवतरणका क्रममा दुर्घटनामा परेको छ।
प्रहरीका अनुसार काठमाडौँबाट भद्रपुरका लागि आएको बुद्ध एयरको उडान नम्बर ९०१ (एटीआर–७२) जहाज अवतरण गर्ने क्रममा रन–वेबाट चिप्लिएर पूर्वतर्फ करिब ३०० मिटर तल भासिँदा दुर्घटना भएको हो। जिल्ला पुलिस कार्यालय झापाले दिएको जानकारीअनुसार उक्त घटना मिति २०८२/०९/१८ गते राति करिब २१:१० बजे भएको हो।
जहाजमा ५१ जना यात्रु र ४ जना चालक दलका सदस्य सवार थिए। दुर्घटनापछि सबै यात्रु तथा चालक दलका सदस्यलाई सुरक्षित रूपमा जहाजबाट बाहिर निकालिएको पुलिसले जनाएको छ। हालसम्म कुनै मानवीय क्षतिको विवरण प्राप्त नभएको र थप जानकारी संकलन भइरहेको जनाइएको छ।
झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जहाज रन–वेभन्दा बाहिर पुगे पनि सबै यात्रु र चालक दल सुरक्षित रहेको पुष्टि गरेका छन्। यद्यपि, जहाजमा भने क्षति पुगेको उनले जानकारी दिए।
घटनापछि जिल्ला पुलिस कार्यालय झापाबाट पुलिस उपरीक्षक (प्रउ) राजन लिम्बुको नेतृत्वमा करिब ७० जना प्रहरी टोली घटनास्थलमा खटिएको थियो। पुलिस र विमानस्थल सुरक्षाकर्मीको सहयोगमा उद्धार कार्य सफलतापूर्वक सम्पन्न गरिएको जनाइएको छ।


पुलिसका अनुसार उक्त जहाज काठमाडौँबाट राति २०:२३ बजे चन्द्रगढीका लागि उडेको थियो। दुर्घटनाको कारणबारे प्राविधिक तथा सुरक्षा निकायले थप अनुसन्धान गरिरहेको जनाइएको छ।

About Author

Advertisement