भद्रपुर(नेपाल): झापाको सदरमुकाम भद्रपुरमा पहिलोपटक अन्तर्राष्ट्रियस्तरको कोशी पाथीभरा इण्डो–नेपाल टी–२० क्रिकेट प्रतियोगिता आजदेखि सुरु भएको छ। उद्घाटन खेलमा भारतको राइनोल्याण्ड क्रिकेट एकाडेमी (आसाम) ले जीएचसीए काठमाडौँलाई ४२ रनले हराउँदै विजयी सुरुआत गरेको छ।
भद्रपुर क्रिकेट क्लवको आयोजनामा भद्रपुर–८ स्थित मेची बहुमुखी क्याम्पसको क्रिकेट मैदानमा पहिलो ब्याटिङ गर्दै आसामले १८.१ ओभरमा अलआउट हुँदै ९६ रन बनायो। जवाफमा काठमाडौँ १६.२ ओभरमा ५४ रनमा अलआउट भयो। यस जितसँगै आसामले महत्वपूर्ण ३ अंक थपेको छ।
आसामतर्फ मोहमद हबिबुल्लाले सर्वाधिक १९ रन बनाएका थिए भने काठमाडौँतर्फ रुपेश श्रीवास्तवले ४ ओभरमा १६ रन खर्चेर ३ विकेट लिए। काठमाडौँतर्फ सर्वाधिक १४ रन बनाउने खेलाडी भए भने आसामतर्फ प्राञ्जल भरालीले ४ ओभरमा ९ रन खर्चेर ३ विकेट लिए।
प्रतियोगिताको उद्घाटन समारोह कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गरे। उनले दीप प्रज्वलनपछि मैदानमा ब्याटिङ गर्दै प्रतियोगिता सुरु गरेका थिए। भद्रपुर क्रिकेट क्लवका अध्यक्ष आदित्य पराजुलीको अध्यक्षतामा सम्पन्न समारोहमा संघका सचिव केदार महत र भद्रपुर नगरपालिका वार्ड नं ८ का वडाध्यक्ष गौरब सुब्बा ‘मनोज’ ले स्वागत गर्दै औचित्यमाथि प्रकाश पारे। समारोहमा विभिन्न झाँकीहरु पनि प्रस्तुत गरियो।
प्रतियोगितामा नेपालका चार र भारतका चार गरी आठ टोली सहभागी छन्। आयोजक भद्रपुर क्रिकेट क्लवका महासचिव वसन्त पोखरेलका अनुसार टोलीहरू दुई समूहमा विभाजन गरिएको छ र अंकका आधारमा सेमिफाइनल खेल्ने टिमको निर्णय हुनेछ। प्रतियोगिता फरवरी १२ सम्म सञ्चालन हुने छ।
विजेताले पाँच लाख रुपैयाँ नगदसहित शील्ड प्राप्त गर्नेछन् भने उपविजेताले तीन लाख रुपैयाँ नगदसहित शील्ड पाउनेछन्। अध्यक्ष पराजुलीले प्रतियोगिता कोशी प्रदेश सरकारले घोषणा गरेको पर्यटन वर्षसँग जोडेर आयोजना गरिएको बताए।
प्रतियोगितामा नेपालका तर्फबाट आयोजक भद्रपुर क्रिकेट क्लव, काठमाडौं, सुदूरपश्चिम र गण्डकी र भारतका तर्फबाट दिल्ली, लखनउ, आसाम र सिक्किम सहभागी छन्।

बिहीबार दुई खेल हुनेछन्। पहिलो खेलमा दिल्लीले आजको विजेता आसामसँग प्रतिस्पर्धा गर्नेछ भने दोस्रो खेलमा भद्रपुर क्रिकेट क्लवले जीएचसीए काठमाडौँको सामना गर्नेछ।










