भद्रपुर(नेपाल): भद्रपुर क्रिकेट क्लबको आयोजनामा र मेची बहुमुखी क्याम्पस क्रिकेट ग्राउण्डमा जारी कोशी–पाथीभरा इण्डो–नेपाल टी–२० च्याम्पियनसिपको समूह बी अन्तर्गत आज सम्पन्न दुई खेलसँगै सेमिफाइनलको तस्वीर पूर्ण भएको छ।
आज समूहका अन्तिम खेलमा भारतको लखनउ र नेपालको डडेल्धुराले सहज जित हात पार्दै आफ्नो स्थान सेमिफाइनलमा सुनिश्चित गरेका छन्। दुवै टोलीले आफ्नो पहिलो खेलमा पनि सफलता हासिल गरेका थिए। हिजो लखनउले पोखरालाई पराजित गरेको थियो भने डडेल्धुराले भारतको सिक्किममाथि विजय प्राप्त गरेको थियो।
आजको पहिलो खेलमा पोखरा र डडेल्धुराबीच प्रतिस्पर्धा भएको थियो। पहिले ब्याटिङ गरेको पोखराले १७.४ ओभरमा सबै विकेट गुमाउँदै ८५ रन मात्र बनाउन सक्यो। डडेल्धुराका अय्यर र युवराज खत्रीले समान २–२ विकेट लिए। जवाफमा डडेल्धुराले ३ विकेट गुमाएर मात्र १०.३ ओभरमा लक्ष्य पूरा गर्यो। सन्नी बिकले २४ बलमा ४८ रनको आक्रामक पारी खेल्दै जित सुनिश्चित गरे।
दोस्रो खेलमा लखनउले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४६ रन बनायो। जवाफमा सिक्किम १९.२ ओभरमा सबै विकेट गुमाएर ९८ रनमै रोकियो। यसरी लखनउले ४८ रनले जित हात पारे। लखनउका रमन कदयानले सर्वाधिक ४८ रन बनाए, भने सिक्किमका रुसभ राथोडले २८ रन जोडे। बलिङमा सिक्किमका अक्षय सैनले ४ ओभरमा १४ रन खर्चेर २ विकेट लिए भने लखनउका चार बलरले समान २–२ विकेट लिए।
भद्रपुर क्रिकेट क्लबका संयोजक गौरव सुब्बा ‘मनोज’ले मंगलबार दुई खेल सम्पन्न भएसँगै समूह चरणका सबै खेल पूरा भएको जानकारी दिए। उनले विश्वकप टी–२० क्रिकेट चलिरहे पनि प्रतियोगितामा दर्शकको उत्साह उल्लेख्य रहेको बताए।










