मुम्बई: ओलम्पियन महिला पहलवान विनेश फोगाटले ठूलो खुलासा गर्दै उनी भारतीय कुश्ती महासंघ (डब्ल्यूएफआई) -का पूर्व अध्यक्ष बृजभूषण शरण सिंहविरुद्ध नालिश दर्ता गर्ने ६ महिला पहलवानहरूमा एक रहेको बताएकी छन्। उनले भीडियो सन्देश जारी गरी केही परिस्थितिहरूले गर्दा उनी अहिले मुख खोल्न वाध्य भएको बताएकी छन्। विनेशले बताएअनुसार, पहिला उनी यस मामिलामा आफ्नो पहिचान अघि ल्याउन चाहँदैनन् थिइन् कारण मामिला अहिले पनि अदालतमा लम्बित छ। उनले भनिन्, सुप्रीम कोर्टको दिशानिर्देशहरू अनुसार कुनै पनि पीड़िताको पहिचान उजागर गर्नु हुँदैन कारण यो उनकी गरिमा र सम्मानसँग सम्बन्धित मामिला हो। म यो मामिलाको फसेला नहुञ्जेल केही बोल्न चाहदिन थिएँ तर अहिले म भन्न चाहन्छु कि नालिश दर्ता गर्ने ६ जना पीड़िताहरूमा म पनि एकजना हूँ अनि हाम्रो गवाही अहिले पनि चलिरहेको छ। एकजना महिलाको निम्ति यस्तो स्थितिमा लड़ाइँ गर्नु धेरै कठिन हुन्छ। यस्तो स्थितिको सम्मुखीन हुने हरेक खेलाड़ीले यसलाई बुझ्न सक्छिन्। म डेढ़ सालदेखि खेलदेखि टाढ़ा रहेकी छु तर गत केही महिनादेखि खेलमा फर्किने तयारी गरिरहेकी छु। विनेशले बताएअनुसार, उनले पहिचान उजागर गर्ने मुख्य कारण डब्ल्यूएफआई को उत्तर प्रदेशको गोण्डामा ऱ्याङकिंग टुर्नामेण्ट र ट्रायल आयोजन गर्ने फसेला हो। विनेशले भनेकी छन्, लगभग एक महिना अघि डब्ल्यूएफआई-ले एउटा प्रतियोगिता आयोजन गरिने घोषणा गरेको थियो। टुर्नामेण्ट उत्तर प्रदेशको गोण्डामा हुनेछ, जहाँ बृजभूषणको घर छ। उनको आफ्नो निजी कलेज छ अनि त्यही प्रतियोगिताको आयोजन हुनेछ। त्यहाँ निष्पक्षताको साथ नतीजा अघि आउने सम्भावना कम्ती नै रहेको छ।










