कोलकाता: कोलकाताको नेताजी सुभाष चन्द्र बोस अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान गेट नजिकै बुधबार राति आगलागी भयो। राति करिब ९:१० बजे लागेको आगो आधा घण्टामा नियन्त्रणमा आएको अधिकारीहरूले बताएका छन्। ‘चेक इन’ प्रक्रिया तत्कालका लागि स्थगित गरिएको र आगो निभाउन आठ दमकल खटाइएको उनले बताए। डिपार्चर गेट ३–सीमा आगलागी भएपछि विमानस्थलभित्रको सम्पूर्ण क्षेत्र बाक्लो कालो धुवाँले भरिएको थियो। विमानस्थलद्वारा ट्वीट गरियो, ‘बेलुका ९:१२ बजे, चेक-इन क्षेत्र पोर्टल डीमा सानो आगो लाग्यो र धुवाँ उठ्न थाल्यो र ९:४० बजे पूर्ण रूपमा नियन्त्रणमा ल्याइएको थियोl’ सबै यात्रुहरूलाई सुरक्षित रूपमा बाहिर निकालियोl
यस घटनापछि अग्निशमनमन्त्री सुजित बोसले भने, ‘एयर कन्डिसनमा केही गडबडीका कारण आगो लागेको हुनसक्छ’। आगलागीको कारण भने अनुसन्धानपछि मात्र थाहा हुनेछ। एएआईका प्रवक्ताले घटनाको अनुसन्धान शुरु गरिएको बताए। नागरिक उड्डयन मन्त्री ज्योतिरादित्य सिन्धियाले ट्वीट गर्दै आगलागीको घटना दुर्भाग्यपूर्ण भएको बताएका छन्। उनले भने, ‘म विमानस्थल निर्देशकसँग सम्पर्कमा छु। स्थिति नियन्त्रणमा छ। सौभाग्यवश, सबै सुरक्षित छन् र कुनै चोटपटक रिपोर्ट गरिएको छैनl’









