गान्तोक: ब्याडमिन्टन स्टेट अम्पायर एड्रिएल ग्याम्छो लिङदोङले ब्याडमिन्टन एसोसिएसन अफ इण्डिया (बीएआई) द्वारा लिइएको प्रतिष्ठित राष्ट्रिय खेल नियन्त्रण मूल्याङ्कन परीक्षा सफलतापूर्वक उत्तीर्ण गरेका छन्। सो परीक्षा आन्ध्र प्रदेशको विजयवाडामा आयोजित वरिष्ठ राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको अवसरमा सम्पन्न गरिएको थियो।
बीएआईले सञ्चालन गरेको उक्त परीक्षा अत्यन्त कडा र प्रतिस्पर्धात्मक रहेको बताइएको छ। मूल्याङ्कन प्रक्रियामा उच्च अङ्क प्राप्त गर्ने सीमित उम्मेदवारहरू मात्र राष्ट्रिय प्यानलमा समावेश हुने व्यवस्था रहेको थियो। सोही प्रक्रियाअन्तर्गत एड्रिएलले उत्कृष्ट प्रदर्शन गर्दै राष्ट्रिय खेल नियन्त्रण प्यानलमा स्थान बनाउन सफल भएका छन्। उनी सात जना सफल उम्मेदवारमध्ये एक हुन्।
ब्याडमिन्टन एसोसिएसन अफ सिक्किम (बीएएस) ले उनको सफलताप्रति खुशी व्यक्त गर्दै हार्दिक बधाई दिएको छ। बीएएसद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “यो उपलब्धि सिक्किमका लागि गर्वको क्षण हो। यसले राष्ट्रिय स्तरमा राज्यका प्राविधिक अधिकारीहरूको बढ्दो क्षमतालाई प्रतिबिम्बित गर्दछ।”
एसोसिएसनले एड्रिएलको समर्पण, व्यावसायिकता र ब्याडमिन्टन खेलप्रतिको गहिरो प्रतिबद्धताको प्रशंसा गर्दै उनको भविष्यका सबै प्रयासहरूमा सफलताको शुभकामना समेत व्यक्त गरेको छ।










