गान्तोक: सिक्किमका लोकसभा सांसद डा. इन्द्रहाङ सुब्बाले आज नयॉं दिल्लीमा सीमा सड़क संगठन (बीआरओ) का अतिरिक्त महानिदेशक जर्ज पी. चेरियनलाई उनको कार्यालयमा भेट गरे।
बीआरओको अभियान्त्रिकी प्रकोष्ठका अधिकारीहरूको उपस्थितिमा बसेको बैठकमा उत्तर सिक्किममा चलिरहेको पुनर्स्थापना र पुनर्संरचना परियोजनाहरू लगायत टूङ-नागा सड़क मार्ग, चुङथाङ लाचेन सड़क मार्ग र जीमा सड़क मार्गलाई लिएर चर्चा गरियो।
बैठकमा बीआरओ अधिकारीहरूले महत्वपूर्ण सड़क पुनर्स्थापना परियोजनामा भएको प्रगतिको बारेमा जानकारी गराए। सांसद डा सुब्बाले भने, उत्तरी सिक्किम जाने सडकहरूको स्थायी पुनर्निर्माण राज्यको सर्वोच्च प्राथमिकता हो, किनकि यसले हाम्रो देशको राष्ट्रिय सुरक्षा र उत्तरका जनताको कल्याण दुवैसँग प्रत्यक्ष रूपमा सरोकार राख्छ।
यस अतिरिक्त बैठकमा प्रस्तावित डबल लेनको सडक अनि जुलुकवासीले उठाएका चिन्ताहरूलाई पनि चर्चा गरियो। प्रस्तावित डबल लेनको सडकले पर्यटकहरूको मुख्य आकर्षण सिल्क रूटको सुन्दरलाई असर पर्ने सम्भावनालाई लिएर स्थानीय हितधारकहरू चिन्तित रहेको सांसदले अवगत गराए। बीआरओका अधिकारीले यस विषयम सांसद सुब्बासॅंग फेरि चर्चा गर्ने आश्वासन दिए।
सांसद सुब्बाले यस समस्याको सौहार्दपूर्ण समाधान हुने र जुलुकका जनताको चिन्ताको समाधान हुने आशा व्यक्त गरेको कुरा प्रेस विज्ञप्तिमा उल्लेख छ।









