बिना पैसा तामिलनाडुबाट पैदलयात्रामा निस्किएको लोकेश जयगाउँमा

affd95fa-be1a-42a2-a4de-3d06b88bc40a


कालचिनी- भ्रमण गर्ने एडभेञ्चरको आनन्द लिने धेरै मानिसको शौक अर्थात रुचि हुन्छन्| कसैलाई मोटरबाइकमा कसैलाई साइकलमा त कसैलाई वाहनमा चढ़ेर भ्रमण गर्ने इच्छा हुन्छन्| तर विरलै मानिसहरूमा पैदलयात्रा गर्ने इच्छा रहेको देखिएकोबीच आज तामिलनाडुका एकजना पैदलयात्रा गर्दै भारत भोटाङ सीमान्त सहर जयगाउँमा आईपुगेको युवकलाई देख्दा मानिसहरू अचम्भित बनेका छन्| तमिलनाडुका बासिन्दा युवा लोकेशले विगत १८ महिनादेखि पैदलयात्रा गर्दै भारतको सॉंध सिमानाहरू म्यानमार, बंगलादेश, श्रीलंका, चाइना, नेपाल सीमावर्ती क्षेत्र पार गर्दै आज भारतभोटाङको सीमावर्ती सहर जयगाउँ पुगेका छन्|
तिनले सञ्चारमाध्यमहरुसित कुराकानी गर्ने क्रममा मानवताको सन्देश पुरै देशमा पुर्‍याउन १९ अप्रेल २०२१ देखि आफ्नो यात्रा सुरु गरेको जनाएका छन्| उल्लेखनीय के भने लोकेशले खल्तीमा एक पैसा नलिई निस्किएको बताएका छन्| देशैभरिको यात्रामा सर्वसाधारणसँग खाना माग्दै रात्रि विश्राम माग्दै आज भोटाङ सीमान्तमा आईपुगेको उनले बताए| यात्रा क्रममा धेरैले उनलाई आराम गर्न घरमा आश्रय दिएको तर कहिलेकाहीँ भोकै पनि बस्नु परेको बयान गर्दै पैसा बिना यात्रा गर्नु नितान्त फरक अनुभव रहेको जनाएका छन्| यात्राको क्रममा भिन्न भिन्नै भाषाका मानिसहरूलाई भेटेका र विचार आदान प्रदान गर्न निकै गाह्रो भएको पनि लोकेशले अनुभव व्यक्त गरेका छन्| विभिन्न राज्यहरूमा परिकार परिकारको खानाहरू खाइएको र भौगोलिक अनि जातीय स्वादको अनुभव लिएको उनले आफ्नो यात्रामा बुझेको बताएका छन्| आफूलाई तमिल र अङ्ग्रेजीबाहेक कुनै भाषा नजान्ने भएकोले धेरै अप्ठ्यारोको सामना पनि गर्न परेको त्यसैले यात्रा गर्दा हिन्दी भाषाको ज्ञान हुन धेरै महत्त्वपूर्ण भएको महसुस गरेको पनि लोकेशले बताएका छन्| वर्तमान तिनी भोटाङ सीमान्त जयगाउँ सहरमा पुगेको र आगामी २३ सेप्टेम्बरको दिन भोटाङबाट अनुमति मिले तिनले जयगाउँबाट भोटाङ जाने योजना रहेको पनि जनाएका छन्| बिना पैसा यात्रा गर्नुको उद्देश्यबारे लोकेशले मानवताको सन्देश दिनलाई अनि यसको अनुभव बटुल्न निस्किएको बताएका छन्|

About Author

Advertisement