मुम्बई: महाराष्ट्रको बारामतीमा भएको विमान दुर्घटनाको अनुसन्धान राज्य अपराध अनुसन्धान विभाग (सीआईडी) लाई जिम्मा दिइएको छ। उक्त दुर्घटनामा महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारसहित पाँच जनाको ज्यान गएको थियो।
२८ जनवरीमा पुणे जिल्लाको बारामतीमा भएको दुर्घटनापछि दर्ता गरिएको आकस्मिक मृत्यु सम्बन्धी मुद्दाको अनुसन्धान सीआईडीलाई हस्तान्तरण गरिएको एक वरिष्ठ अधिकारीले जानकारी दिए। पुणे ग्रामीण प्रहरीले भारतीय नागरिक सुरक्षा संहिता (बीएनएसएस) को धारा १९४ अनुसार मुद्दा दर्ता गरी सीआईडीमा पठाएको हो।
दुर्घटनामा निजी विमानमा सवार अजित पवार (६६), पाइलट क्याप्टेन सुमित कपूर, सह–पाइलट क्याप्टेन शांभवी पाठक, निजी सुरक्षा अधिकारी विदिप जाधव र विमान परिचारिका पिंकी मालीको मृत्यु भएको थियो। क्याप्टेन कपूरसँग १५ हजार घण्टाभन्दा बढी र सह–पाइलटसँग करिब १,५०० घण्टाको उडान अनुभव रहेको बताइएको छ।
यसैबीच नागरिक उड्डयन मन्त्रालयअन्तर्गतको विमान दुर्घटना अनुसन्धान ब्युरो (एएआईबी) ले पनि छुट्टै अनुसन्धान थालेको छ। दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स बरामद गरिएको छ। घटनासम्बन्धी भिडियो र प्रत्यक्षदर्शीका बयानका आधारमा विभिन्न सम्भावनाको अध्ययन भइरहेको छ।
सरकारले दुर्घटनाका दिन विमान अवतरणका क्रममा बाक्लो कुहिरो लागेको जनाएको थियो। प्रारम्भिक सम्पर्कमा पाइलटले रनवे नदेखिएको जानकारी एअर ट्राफिक कन्ट्रोललाई दिएका थिए। यद्यपि, केही नेताहरूले घटनामा षड्यन्त्रको आशंका व्यक्त गरेका छन्। पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले सर्वोच्च अदालतको निगरानीमा अनुसन्धान गर्न माग गरेकी छन्।
सीआईडीको टोलीले पुणे ग्रामीण प्रहरीसँग सम्बन्धित कागजात संकलन गर्ने र बारामती हवाई पट्टी नजिकको दुर्घटनास्थलको निरीक्षण गर्ने जनाएको छ। साथै, मुम्बईबाट उडान सुरु गर्नुअघि विमानमा कुनै छेडछाड भएको थियो कि थिएन भन्ने विषय पनि अनुसन्धानको दायरामा राखिएको छ।









