सिलगढी: बाबा लोकनाथ ब्रह्मचारीको १३६औं पुण्य तिथिको अवसरमा आज सिलगढीको डागापुरस्थित मन्दिरमा श्रद्धालुहरूको ठूलो घुइँचो लागेको छ। विगतका वर्षहरू झैं यसपालि पनि मन्दिर कमिटीको पक्षबाट विशेष धार्मिक अनुष्ठान, पूजाअर्चना, महाभोग वितरणका साथै मेला र सांस्कृतिक कार्यक्रमहरूको आयोजना गरिएको छ।
उत्सवलाई लिएर आज बिहानैदेखि मन्दिर परिसर भक्तजनहरूको उपस्थिति सँगै निकै चहलपहल बनेको थियो। मन्दिर कमिटीका अनुसार टाढा-टाढाबाट आउने श्रद्धालुहरूको सुविधाका लागि दिनभरि नै अञ्जली दिने व्यवस्था मिलाइएको थियो। यसका साथै बाबा लोकनाथको विशेष पूजा, भोग अर्पण र प्रसाद वितरण जस्ता कार्यक्रमहरू पनि सुचारु रूपले सम्पन्न भइरहेका छन्। भक्तजनहरूलाई कुनै असुविधा नहोस् भन्नका निम्ति मन्दिर परिसरमा आवश्यक सुविधाहरूको प्रबन्ध मिलाइएको छ।
मन्दिर कमिटीका सदस्य सुब्रत साहाले परम्परागत धार्मिक रीतिरिवाज अनुसार नै यस वर्ष पनि वार्षिक पुण्यतिथि पालन भइरहेको जानकारी दिए। यद्यपि, विगतका वर्षहरूको तुलनामा दिउँसोसम्म श्रद्धालुहरूको उपस्थिति केही कम देखिएको उनले बताए। यातायात र सञ्चार व्यवस्थामा आएको अवरोधका कारण सुरुवाती चरणमा भीड अलि कम भएको हुनसक्ने अनुमान गर्दै साहाले साँझसम्ममा भक्तजनहरूको संख्या अझ बढ्ने आशा व्यक्त गरे।








