गान्तोक: मारवाडी युवा मञ्च गान्तोक सिटी शाखाले बैधनाथ धाम (बाबा धाम) जाने बाटोमा दलसिंह सराई बिहारमा बोल बम सेवा समिति नजिक हजारौं कावरीहरूलाई सेवा गर्न समर्पित, सौर्य ऊर्जाबाट चल्ने तातो पानी जडान गरेको छ। पैदल यात्रा गर्दा खुट्टा सुन्निएमा दैनिक हजारौं खुट्टा तातो पानीले भिजाउने उद्देश्यले यो काम गरिएको हो। यो परियोजनाको उद्घाटन गान्तोक शहरका वरिष्ठ नागरिक भगवान दास अग्रवालले विशेष पूजाका क्रममा गरे। देवघर एक प्रमुख तीर्थस्थल हो यो झारखण्ड राज्यको सन्थाल परगना अन्तर्गतमा पर्छ। बाह्र शिव ज्योतिर्लिङ्ग मध्येको एक रहेको यो शहरमा बैधनाथ मन्दिर अवस्थित छ, यो ज्योतिर्लिङ्गलाई मनोकामना लिङ्ग पनि भनिन्छ। प्रत्येक वर्ष साउन महिनामा श्रावण मेला लाग्ने गर्दछ जसमा लाखौं भक्तजनले “बोल-बम!” “बोल-बम!” जय होस्को नाराको साथ बाबा भोलेनाथको दर्शन गर्न आउछन्। यी सबै भक्तहरूले सुल्तानगञ्जबाट पवित्र गंगाको जल लिएर करिब १०० किलोमिटरको कठिन यात्रा गरेर बाबालाई जल अर्पण गर्छन्। यी सय किलोमिटरमा हजारौं सेवकहरूले यात्रीहरुको सेवाका लागि विभिन्न प्रकारका शिविरहरु लगाउने गर्दछन भने प्रत्येक वर्ष मारवाडी युवा मञ्च गान्तोक सिटी शाखाले पनि विभिन्न ठाउँमा सेवा प्रदान गर्दै बैधनाथ धाममा जल अर्पण गरेर सिक्किम फर्किने गर्दछन। यो वर्ष शाखाले यो सेवा आयोजना अवधिमा सौर्य उर्जाको तातो पानी प्रणाली उपलब्ध गराउने निर्णय गरेकोले यो प्रकल्प स्थापना गरी लाखौं धर्मावलम्बीलाई सुविधा दिने कार्य गरेको छ।










