काठमाडौं: बाटोमा हराएको १७लाख रुपियाँ फेला पारेर जिल्ला पुलिस कार्यालय कास्कीले सम्बन्धित व्यक्तिलाई नै फिर्ता गरेको छ। जिल्ला पुलिस प्रवक्ता डीएसपी वसन्तकुमार शर्माका अनुसार बिहीबार दिउँसो करिब डेढ बजेको समयमा ४३ वर्षीय मनोहर पवँरको पैसा राखेको झोला हराएको थियो। पोखरा–८ पृथ्वी चोकमा रहेको माताश्री ज्वेलर्समा काम गर्ने पवँर बिहीबार नयाँ बजार स्थित कृषि विकास ब्यांकमा जम्मा गर्न जाँदै थिए। पैसा राखेको झोला मोटरसाइकलको ‘लेग गार्ड’बाट कहाँ खस्यो भन्ने पत्तै पाएनन्। हराएपछि मात्रै थाहा पाए। घटनालगत्तै उनले पुलिसलाई खबर गरे। जिल्ला पुलिस कार्यालयबाट खटिएको टोलीले खोजतलास गर्दा उक्त झोलाभारत घर भई पोखरा–३ पालिखे चोकमा बस्ने ६५ वर्षीय छोटुलाल शर्माले भेटेको पत्ता लाग्यो। पैसाको झोला फेलापारेका शर्माकै रोहवरमा सुनारलाई उक्त रकम बिहीबारै फिर्ता गरिएको पुलिसले जनाएको छ।









