बागडोगरा: आज सांसद राजु विष्टले राष्ट्रपति द्रौपदी मुर्मूसँगै बागडोगराको गोसाइपुर विमानस्थल मैदानमा आयोजित ९औं अन्तर्राष्ट्रिय सन्थाल सम्मेलनमा सहभागी हुने अवसर पाए।
संजाल मार्फत प्राप्त जानकारी अनुसार सांसदले अन्तर्राष्ट्रिय सन्थाल सम्मेलन सन्थाल समुदायको विश्वव्यापी भेटघाट हो र यो दक्षिण एसियाको एक ठुलो आदिवासी समूह हो भने। उनले यस सम्मेलनमा भारत, बंगलादेश, नेपाल लगायतका देशका विद्वान्, नेतृ तथा समुदायका सदस्यहरू भेला हुने र सन्थाल भाषा, संस्कृति र पहिचान प्रवर्द्धन गरिने जनाए।

सांसदले भने, ‘सम्मेलनले आदिवासी अधिकार, शिक्षा, सामाजिक विकासका विषयमा छलफल गर्दै सन्थाल सम्पदाको संरक्षण र नेतृत्वकर्ताहरूको सम्मान गर्दछ, जस्तै सन्थाल हुुल (विद्रोह) का साहसी नेता सिधु र कन्हु मुर्मू।
यसैगरी सांसदले आदिवासी समुदाय दरजिलिङ पहाड, तराई र डूअर्स क्षेत्रको सामाजिक तथा सांस्कृतिक संरचनाको अभिन्न अंग हो भने। सन्थालहरूले आफ्नो समृद्ध परम्परा, भाषा, चाडपर्व, संगीत र नृत्यलाई संरक्षण गर्दै आएको साथै यस क्षेत्रको सांस्कृतिक वातावरणमा महत्वपूर्ण योगदान पुर्याएको कुरा व्यक्त गर्दै आज पनि सन्थालहरुले दाजिलिङ, तराई र डूअर्स क्षेत्रको आदिवासी सांस्कृतिक विविधता कायम राख्न महत्वपूर्ण भूमिका खेलेका छन् भने।

सांसदले यस क्षेत्रमा राष्ट्रपति द्रौपदी मुर्मूको उपस्थितिले सम्मानित अनुभव गरे। भारतको पहिलो अनुसूचित जाति वा जनजाति समुदायबाट निर्वाचित राष्ट्रपति भएर शिक्षिका पदबाट राष्ट्रको सर्वोच्च संवैधानिक पदमा पुगेको उनको यात्रा प्रेरणादायी छ भने। साथै सांसदले राष्ट्रपतिको जीवनकथा सम्पूर्ण देशका लाखौं मानिसका लागि प्रेरणा बनेको जनाउँदै विशेष गरी यस क्षेत्रको आदिवासी र प्रतिनिधित्व कम भएका समुदायका मानिसहरूका लागि ठूलो सपना देख्न र सार्थक परिवर्तनको लागि प्रयास गर्न प्रेरित गर्ने बताए।











