बर्मेक-नाम्फिङमा कला साहित्य सङ्गम सम्पन्न

IMG-20241222-WA0213

गान्तोक: नेपाली साहित्य परिषद्, सिक्किमले राजधानी बाहिरको विभिन्न स्थानमा आफ्नो गतिविधि तेज गरेको छ। यसअन्तर्गत नाम्ची जिल्लाको बर्मेक-नाम्फिङस्थित प्रणामी मन्दिरको प्रेक्षागृहमा नेपाली साहित्य परिषद् र कला-कलम सङ्गम, बर्मेक-नाम्फिङको संयुक्त तत्वावधानमा कला-साहित्य सङ्गम नामक कार्यक्रम भव्यतापूर्वक सम्पन्न भयो। नेपाली साहित्य परिषद्, सिक्किमका अध्यक्ष हरि ढुङ्गेलको अध्यक्षतामा सम्पन्न भएको यस कार्यक्रममा परिषद्का प्रतिनिधिहरु सहभागी थिए। कार्यक्रममा कला-कलम सङ्गमका अध्यक्ष एनके खतिवड़ाको स्वागत सम्बोधनपछि मदन भूजेल र उनका टोलीले मादलका तालहरू सुनाए। भीमहाङ सुब्बाले च्याब्रुङ नृत्यबारे जानकारी दिएपछि कलाकारहरूद्वारा च्याब्रुङ नृत्य प्रस्तुत गरिएको थियो। कार्यक्रममा स्थानीय विद्यालयहरू आदर्श सुब्बा, सुबिका विश्वकर्मा, आषिश ढकाल, जानुका पाण्डे, युडेन लेप्चा, आकृति भण्डारी, उज्ज्वल खनाल लगायत अन्य गाउँका बसन्त विक्रम छेत्री, ओमप्रकाश पौड्याल, गंगा गुरुङ, ओमप्रकाश छेत्री, रञ्जना कार्की आदिकोे उत्कृष्ट कविता प्रस्तुत गरेका थिए। कृष्ण ढुङगेलको पारम्परिक साङ्गीतिक प्रस्तुति, रविन शर्माको बाँसुरीको धुन साथै रिया सुब्बाको गायन प्रस्तुतिले कार्यव्क्रमलाई अतिरिक्त उचाइमा पुऱ्याएको थियो। कार्यक्रममा भास्कर पौड्यालकृत ‘तिमी-नाम्फिङको सत्य-तथ्य’ पुस्तकमाथि साहित्यकार माधव खनालले समीक्षात्मक चर्चा गरे। यस लगायत स्थानीय कलाकार तथा साहित्यकारहरूद्वारा सृजना गरिएका कलाकृति र साहित्यिक कृतिहरू पनि प्रदर्शनमा राखिएको थियो। कला–कलम सङ्गम, बर्मेक, नाम्फिङका महासचिव भोला शर्माद्वारा सञ्चालित कार्यक्रममा सभाध्यक्ष हरि ढुङ्गेलले परिषद्को उद्देश्यहरूमाथि प्रकाश पार्दै उद्देश्य अनुरुप नै आजको कार्यक्रम सम्पन्न भएको बताए। राजधानी गान्तोकमा परिषद्द्वारा आयोजित कार्यक्रमहरूमा कला–कलम सङ्गमका उत्कष्ट कार्यक्रमहरूलाई समावेश गर्न सकिने मन्तव्य जाहेर गरेका थिए। यसैगरि वर्ष २०२४ को साहित्य अकादमी पुरस्कारले विभूषित ‘छिचिमिरा’ कथासङ्ग्रहका सर्जक युवा बराल ‘अनन्त’ लाई बधाई प्रकट गरियो।

About Author

Advertisement