दार्जिलिङ: बन्सल कम्पनी अधीनस्थ चारवटा बगानहरूलाई लिएर १७ फरवरीमा चारवटा चिया बगानका प्रतिनिधिहरुसंग सिलगढीमा त्रिपक्षीय बैठक हुने भएको छ। बन्सल कम्पनी अधीनस्थ भनेर चिनिने चारवटा चिया बगानहरु क्रमशः रंकमुक सिडर्स, रागेरुङ, आलुबारी, पाण्डाम चियाबारीमा भएको समस्याको समाधान निकाल्न आगामी १७ फरवरी २०२३ को दिन सिलगढीस्थित श्रमिक भवनमा त्रिपक्षीय बैठक बोलाइएको छ। जीटीए सभाको डेपुटी चिफ् राजेश चौहानले जानकारी दिँदै भनेका छन् कि बन्सल कम्पनी अधीनस्थ चियाबगानको श्रमिकहरूको समस्यालाई अस्थायी रूपमा सुल्झाउन जीटीए चिफ् अनित थापाको पहलमा दुईपक्षीय बैठक बसेर श्रमिकहरूको वेतन, बोनस आदिको प्रबन्ध मिलाइएको थियो। यी कमानहरु नयाँ मालिकले लिएको थियो। तर कतिपय कानुनी व्यवधानको कारण नयाँ मालिकको नाममा मालिकना नाम सारी भएको थिएन। राजेश चौहान भन्छन् कि गत ६ फेब्रुअरीको दिन उनले कोलकातामा श्रमिक मन्त्री मलय घटकसंग भेट गरेर यस समस्या विषयमा चर्चा गरेका थिए। मन्त्रीले पनि समस्याको समाधान चाँडै निकाल्ने वचन दिएका थिए।
स्मरण रहोस्, अनित थापाले जुन मोडल लिएर उपर्युक्त कमानहरु सञ्चालन गरिरहेका थिए, त्यस मोडललाई विपक्षकाहरुले अवैधानिक भनी घोषणा गरेका थिए। आज राजेश चौहानले जानकारी दिँदै भने कि श्रम विभागले आगामी १७ फरवरीको दिन सिलगढीस्थित श्रमिक भवनमा चारवटा चिया बगानका ट्रेड युनियनहरु, जिल्लाका अधिकारीहरूलाई लिएर त्रिपक्षीय बैठक बोलाएको छ। बैठक चारवटा चिया बगानको समस्याहरु समाधान गर्न बोलाइएको हो। राजेश चौहानले भने, “श्रम विभागको यो चिठ्ठीले खुशीको खबर बोकेर आएको छ। समस्या चाँडै नै समाधान हुनेछ। अब चिया बगान सुचारु रुपले चल्नेछ।”










