कालचिनीः गुवाहाटीदेखि न्यू जलपाइगढीसम्म सोमबारदेखि बन्दे भारत एक्सप्रेसको परिसेवा शुभारम्भ भएको छ। बन्दे भारत एक्सप्रेसको स्टोपेजलाई लिएर धेरै संशय चलिरहेकोबीच न्यू अलिपुरद्वार रेल स्टेशनमा यसको स्टोपेज हुने भएता पनि न्यू कोचबिहारमा स्टोपेजको नाम नआउँदा कोचबिहार बासिन्दाहरूले आन्दोलनसम्म गर्न परेको थियो। तर अन्ततः रेलवे विभागले न्यू अलिपुरद्वारपछि न्यू कोचबिहापमा बन्दे भारत एक्सप्रेसको स्टोपेजको स्वीकृति दिएको थियो। सोमबार यसै क्रममा न्यू अलिपुरद्वार रेल स्टेशनमा रेलवे प्रशासनले बन्दे भारत एक्सप्रेसको स्वागत कार्यक्रम आयोजना गरेको थियो।
उक्त अवसरमा अलिपुरद्वार सांसद तथा केन्द्रिय मन्त्री जोन बारला, कालचिनी विधायक विशाल लामा, मदारीहाट विधायक मनोज तिग्गा, अलिपुरद्वार डीआरएम दिलीप कुमार सिंह, एवम् अन्यान्य विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो।
सो अवसरमा कालचिनीबाट पुगेका कोकोम्हेन्दो लोकनृत्य समूहले नृत्य साथै स्थानीय कलाकारहरूले बाङ्गला नृत्य प्रस्तुत गरेको थियो। निर्धारित समय अनुसार बन्दे भारत एक्सप्रेस न्यू अलिपुरद्वार रेल स्टेशनमा आईपुग्दा यसको स्वागतमा ब्यान्ड बाजा बजाएर भव्य स्वागत गरिएको थियो भने बन्दे भारत एक्सप्रेसको ज्वाइ राइड गर्न अलिपुरद्वार सांसद तथा केन्द्रिय मन्त्री जोन बारला, कालचिनी विधायक विशाल लामा, मदारीहाट विधायक मनोज तिग्गा, अलिपुरद्वार डीआरएम दिलीप कुमार सिंह रेल चढ़ेको थियो।
ज्वाइ राइड गर्न चढ़ेका मन्त्री र विधायकहरूलाई बन्दे भारत एक्सप्रेसमा गुवाहाटीबाटै चढ़ेर आएका कोचबिहार सांसद तथा केन्द्रिय मन्त्री निसिथ प्रमाणिकले स्वागत जनाएको थियो। यस क्रममा ज्वाइ राइड गर्दै अलिपुरद्वार डीआरएम दिलीप कुमार सिंह र सांसद तथा केन्द्रिय मन्त्री जोन बारलाले बन्दे भारत एक्सप्रेसको परिसेवा उत्तरबंगालको मानिसले पाएको र भविष्यमा अझै अलिपुरद्वार तथा डुवर्सको मानिसले विमान परिसेवा पनि पाउने बताए। चाँडै न्यू अलिपुरद्वारदेखि गुवाहाटीसम्म एउटा इन्टरसिटी एक्सप्रेस पनि चालू हुने रेलवेको परियोजना रहेको अलिपुरद्वार डीआरएम दिलीप कुमार सिंहले थप जनाएका छन्।
यता बन्दे भारत एक्सप्रेसको ज्वाइ राइडमा सामेल भएको कालचिनी विधायक विशाल लामाले यशश्वी प्रधानमन्त्री नरेन्द्र मोदीजीको मायाले अनि अलिपुरद्वार डीआरएम दिलीप कुमार सिंह साथै मन्त्री जोन बारला र रेलवे बोर्डको टीमवर्कले आज न्यू अलिपुरद्वार रेल स्टेशनमा बन्दे भारत एक्सप्रेसको स्टोपेज सम्भव भएको जनाएका छन्।









