लन्डन: बेलायत सरकारले बङ्गलादेशमा “सबै प्रकारका हिंसा” को निन्दा गरेको छ र शान्तिपूर्ण तथा विश्वसनीय चुनाव गराउन आह्वान गरेको छ। बङ्गलादेशमा हिन्दू तथा अन्य धार्मिक अल्पसङ्ख्यकहरूको हत्या सम्बन्धी विषय बेलायती संसदको तल्लो सदन ‘हाउस अफ कमन्स’ मा उठेपछि बेलायत सरकारले यस्तो धारणा सार्वजनिक गरेको हो।
विपक्षी कन्जर्भेटिभ पार्टीका सांसद बब ब्ल्याकम्यानले बिहीबार संसदमा वक्तव्य दिँदै लेबर पार्टी नेतृत्वको सरकारलाई अल्पसङ्ख्यकहरूको सुरक्षा सुनिश्चित गर्न हस्तक्षेप गर्न आग्रह गरे र फेब्रुअरीमा हुने चुनाव “स्वतन्त्र र निष्पक्ष” बनाउन माग गरे। बेलायती हिन्दूहरूको सर्वदलीय संसदीय समूह (एपीपीजी) का अध्यक्ष ब्ल्याकम्यानले हिन्दूहरूको हत्या र उनीहरूका मन्दिर जलाइएको “भयावह अवस्था” देखेर आफू स्तब्ध भएको बताए।
सडकमा खुलेआम हिन्दू हत्या प्रति चिन्ता:
उनले भने, “सडकमा खुलेआम हिन्दूहरूको हत्या भइरहेको छ, उनीहरूका घर जलाइँदै छन्, मन्दिरमा आगजनी गरिँदै छ र अन्य धार्मिक अल्पसङ्ख्यकहरू पनि यस्तै अत्याचारको शिकार भइरहेका छन्।” उनले थपे कि आगामी महिना तथाकथित “स्वतन्त्र र निष्पक्ष” चुनाव हुन गइरहेको भए पनि बङ्गलादेशको प्रमुख राजनीतिक दल अवामी लीगलाई चुनावमा भाग लिन प्रतिबन्ध लगाइएको छ, जबकि जनमत सर्वेक्षण अनुसार उसलाई करिब ३० प्रतिशत समर्थन रहेको छ। उनले इस्लामी कट्टरपन्थीहरूले बङ्गलादेशको संविधान नै स्थायी रूपमा बदल्ने उद्देश्यले जनमत संग्रहको आह्वान गरेकोमा पनि चेतावनी दिए।
निष्पक्ष चुनावको माग:
ब्ल्याकम्यानले हाउस अफ कमन्सका नेता एलन क्याम्पबेलसँग अनुरोध गरे कि उनले विदेशमन्त्री यभेट कूपर समक्ष यो विषय उठाऊन् र बङ्गलादेशमा “समावेशी” चुनाव तथा अल्पसङ्ख्यक सुरक्षा सुनिश्चित गर्न बेलायतले के कदम चालिरहेको छ भन्ने जानकारी संसदलाई दिइयोस्।
क्याम्पबेलले भने, “हामी मानवअधिकार प्रवर्द्धन र संरक्षणप्रति दीर्घकालीन रूपमा प्रतिबद्ध छौँ। हामी बङ्गलादेशको अन्तरिम सरकारसँग यो विषय निरन्तर उठाइरहनेछौँ। हामी धार्मिक वा जातीय—सबै प्रकारका हिंसाको निन्दा गर्छौँ र अन्तरिम सरकार प्रमुख मोहम्मद युनुसले अल्पसङ्ख्यक संरक्षणका लागि गरेका प्रतिबद्धता, विशेषगरी गिरफ्तारिका कदमहरूलाई स्वागत गर्छौँ।
बेलायती हस्तक्षेपको आह्वान:
क्याम्पबेलले ब्ल्याकम्यानलाई आश्वासन दिए कि उनले यो विषय विदेशमन्त्रीको ध्यानाकर्षणमा ल्याउनेछन् र विदेश, राष्ट्रमण्डल तथा विकास कार्यालय (एफसीडीओ) ले उचित समयमा औपचारिक बयान जारी गर्नेबारे विचार गर्नेछ।
यसअघि एक साताअघि कन्जर्भेटिभ नेता प्रीति पटेलले विदेशमन्त्री यभेट कूपरलाई पत्र लेख्दै बङ्गलादेशको “अत्यन्त चिन्ताजनक” अवस्थाबारे ध्यानाकर्षण गराएकी थिइन् र बेलायतको हस्तक्षेपको माग गरेकी थिइन्।











