कालचिनी: राजाभातखावास्थित गिद्ध प्रजनन केन्द्रमा हुर्किएको जम्मा १० वटा अति विलुप्तप्राय प्रजातिको ओरिएन्टल व्हाइट ब्याक्ड गिद्ध पक्षी बक्सा ब्याघ्र प्रकल्पको कोर जङ्गलबाट मुक्त आकाशमा छोड़ियो| आज राजाभातखावा स्थित प्रकृति व्याखा केन्द्र (एनआईसी) मा सम्पन्न एक पत्रकार सम्मेलन मार्फत उक्त कुराको जानकारी बक्सा ब्याघ्र प्रकल्पको फील्ड डाइरेक्टर अपूर्व सेनले दिएका छन्| पत्रकार सम्मेलन गर्दै फील्ड डाइरेक्टर अपूर्व सेनले यो दोस्रो चरणको अति विलुप्तप्राय व्हाइट ब्याक्ड गिद्ध पक्षी जम्मा १० वटाको संख्यामा बक्सा ब्याघ्र प्रकल्पको २२ माइल टावर संलग्न एभियरी (पक्षीशाला) बाट धैर्यताको साथ मुक्त आकाशमा छोड़िएको बताए|

यस अघि २०२१ मा पहिलो चरणमा १० वटा अति विलुप्तप्राय व्हाइट ब्याक्ड गिद्ध छोडिएको थियो| बक्सा जंगलमा यी व्हाइट ब्याक्ड गिद्धको प्राक्रतिक आवास रहेको तर यस प्रजातिको गिद्ध नै अहिले देशभरि नै विलुप्त बन्दै गइरहेकोले राजाभातखावास्थित गिद्ध प्रजनन केन्द्रमा यसको संरक्षण भएको र आज दोस्रो चरणको रिलीज कार्यक्रम सम्पन्न गरिएको फील्ड डाइरेक्टर अपूर्व सेनले जनाएका छन्| धेरै बर्षसम्म कैदमा हुर्किए पनि बाहिर उड्न यी गिद्ध पक्षीहरू सक्षम रहेको र प्रत्येकलाई सफ्ट रिलीज कार्यक्रम अन्तर्गत प्लेटफर्म ट्रान्समिटर टर्मिनल (पीटीटी) स्याटेलाइट ट्याग लगाएर मुक्त गरिएको जनाएका छन्|
प्रत्येक गिद्धलाई स्याटेलाइट डाटामार्फत निरन्तर मोनिटर गरिनेछ भने यिनीहरू बंगालबाट असम, भोटाङ, बंगलादेशहरूमा पनि जान सक्छ त्यसको मोनिटर स्याटेलाइट डाटामार्फत मोनिटर गरिने बताईएको छ|

आगामी दिनमा यी अति लोपोन्मुख र महत्वपूर्ण प्रजातिको गिद्धहरूलाई पुनः चरणबद्ध रिलीज हुने जानकारी गराएको छ|आज सम्पन्न पत्रकार सम्मेलनमा बक्सा ब्याघ्र प्रकल्पको फील्ड डाइरेक्टर अपूर्व सेन लगायत बम्बई नेचुरल हिस्टोरी सोसाइटी (बीएनएचएस) का डाइरेक्टर डा. बिभास, डेपुटी डाइरेक्टर बिभू प्रकास, बक्सा ब्याघ्र प्रकल्प पश्चिमको डीएफडी प्रवीण कासवान एवम् राजाभातखावा गिद्ध प्रजनन केन्द्रका इञ्चार्ज आदिको उपस्थिति रहेको थियो|

पत्रकार सम्मेलनमा लोपोन्मुख व्हाइट ब्याक्ड गिद्धको सफल सफ्ट रिलीजको विवरणसँगै पशुहरूलाई प्रतिबन्धित गरिएको डाइक्लोफेनेक आदि औषधिको सट्टा मेलोक्सिक्लेम औषधि प्रयोग गराउने पनि आह्वान गरिएको थियो|










