काेलकाता: पश्चिम बंगालका पूर्व राज्यपाल सी. वी. आनंद बोस ले पदबाट राजीनामा दिएपछि सार्वजनिक खुला पत्रमार्फत बंगालका जनताप्रति आभार व्यक्त गरेका छन्। उनले आफ्नो राजीनामाको कारणबारे स्पष्ट रूपमा केही बताएका छैनन्।
कोलकाताबाट बिदा हुँदै गर्दा उनले बंगालसँगको सम्बन्ध अझै समाप्त नभएको बताएका छन्। “मेरो कार्यकाल सकिए पनि पश्चिम बंगालसँगको मेरो यात्रा अझै समाप्त भएको छैन। बंगाल मेरो दोस्रो घर हो,” उनले पत्रमा लेखेका छन्।
लोक भवन, कोलकातामा बिताएका दिनहरू सम्झिँदै बोसले त्यहाँका मानिसहरूले दिएको माया र समर्थन कहिल्यै नबिर्सने बताएका छन्। उनले लेखेका छन् कि उनलाई “दिदीबहिनीको स्नेह, एउटा सानो बालकले पिठ्युमा दिएको थप्पड, युवाको बलियो हस्तदर्शन र टाढाबाट उठेको हातले दिएको सन्देश” अझै सम्झना छ।
बोसले महात्मा गांधी को भनाइ उद्धृत गर्दै लेखेका छन्, “धेरै दशकअघि गान्धीजीले भन्नुभएको थियो— ‘म बंगाल छोड्न सक्दिनँ र बंगालले पनि मलाई जान दिँदैन।’ आज म पनि त्यही अनुभव गरिरहेको छु।”
त्यसैगरी उनले रवीन्द्रनाथ टैगोर को कविताबाट उद्धरण दिँदै ईश्वर किसानले जमिन जोतिरहेको ठाउँमा र सडक बनाउने मजदुरले ढुंगा फुटाइरहेको ठाउँमा रहेको सन्देश स्मरण गराएका छन्।
सन्देशको अन्त्यमा उनले बंगालका जनता अझ ठूलो उचाइमा पुग्ने विश्वास व्यक्त गरेका छन्। उनले आफूले पनि विनम्र तरिकाले त्यस यात्रामा योगदान दिने बताएका छन्। साथै, पद छोडेपछि पनि पश्चिम बंगालमै मतदान गर्न आउने उनले बताएका छन्।









