फ्ल्याट भाडामा लिएर सट्टेबाजी र अनलाइन ठगी गर्ने समूह पक्राउ

IMG-20240705-WA0004

विराटनगर: विराटनगरमा घरको फ्ल्याट नै भाडामा लिएर विभिन्न अनलाइन ब्याटिङ साइटमार्फत सट्टेबाजीको कारोबार र अनलाइन ठगीको धन्दा चलाउने एक समूहलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय मोरङकाअनुसार अनलाइन गेम खेलाएर सट्टेबाजीको कारोबार गर्ने र ठूलो रकमको चिट्ठा पर्‍यो भन्दै सर्वसाधारणमाथि अनलाइनमार्फत ठगी गर्ने गिरोहका पाँचजनालाई पक्राउ गरिएको हो। पक्राउ पर्नेमा सप्तरीको खडक नगरपालिका ११ का २२ वर्षीय शिवशंकर यादव, राजगढ गाउँपालिका ३ का २० वर्षीय दीपक मण्डल, मोरङको जहदा गाउँपालिका १ का २५ वर्षीय रन्जितकुमार यादव, विराटनगर महानगरपालिका १६ का ३० वर्षीय जनार्दन यादव र २६ वर्षीय सिकिन्दर यादव रहेका छन्। उनीहरूले अवैध हुण्डी कारोबारको धन्दा पनि चलाइरहेको हुनसक्ने प्रहरीको अनुमान छ।विराटनगर १५ स्थित सोहिता कर्णको घरको दोस्रो तलामा ४ वटा कोठा रहेको फ्ल्याट भाडमा लिएर अवैध धन्दा चलाइरहेको पाइएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए। प्रहरीले पक्राउ परेकाहरू बस्दै आएको कोठामा खानतलासी गरेर विभिन्न बैंकका एटीएम कार्ड, चेकबुक, नेपाली तथा भारतीय सिमकार्ड, भारतीय आधार कार्ड तथा नेपाली र भारतीय नम्बर प्लेटका मोटरसाइकललगायत बरामद गरेको छ।डीएसपी बस्नेतका अनुसार ठूलो र सानो गरेर १६ वटा मोबाइल, एटीएम ४४ वटा, भारतीय सिमकार्ड १३ वटा, नेपाली सिमकार्ड १९ वटा, विभिन्न बैंकका १५ वटा चेकबुक, विभिन्न व्यक्तिका नाममा काटिएका १३ वटा चेक, १ जीबीको एउटा हार्ड डिक्स, स्ट्याम प्याड, इलेक्ट्रिक फिङ्गर प्रिन्ट, क्यालकुलेटर, ३ वटा भारतीय आधार कार्डलगायत बरामद गरिएको छ। त्यस्तै नेपाली सवारी चालक अनुमति पत्र (लाइसेन्स) र एउटा भारतीय सवारी चालक अनुमति पत्र १–१ वटा, भारतीय सवारी दर्ता किताब २ वटा, विभिन्न बैंकमा रकम जम्मा गरेको भौचर १५ वटा, आयकर कार्ड एउटा तथा १ हजार ६ सय ५ रूपैयाँ नगदसमेत बरामद भएको उनले बताए।बस्नेतका अनुसार २ वटा भारतीय र एउटा नेपाली नम्बर प्लेटको गरेर ३ वटा मोटरसाइकलसमेत बरामद गरिएको छ। प्रहरीले बीआर २८ डब्लु २४४१, बीआर ३८ एएफ १७६४ र ज ८ प ६९०८ नम्बरको मोटरसाइकल बरामद गरेको जनाएको छ। पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

About Author

Advertisement