५ जूनः सर्बियाका दिग्गज टेनिस खेलाड़ी तथा २२ पल्टका ग्राण्ड स्ल्याम च्याम्पियन नोवाक जोकोविचले रेकर्ड २३औं ग्राण्ड स्ल्याम जित्ने दिशामा कदम बढ़ाउँदै फ्रेञ्च ओपनको क्वार्टर फाइनलमा स्थान बनाए। कोर्ट फिलिप चेट्रियरमा खेलिएको म्याचमा जोकोविचले पेरुका हुआन पाब्लो वारिलासलाई सीधा सेटमा ६-३, ६-२, ६-२-ले पराजित गरे। जोकोविचले केवल १ घण्टा ५८ मिनटसम्म चलेको म्याचमा प्रतिद्वन्द्वी खेलाड़ीलाई कुनै मौका दिएनन्। यस अवधि उनले ३५ वटा विनर लगाए। म्याच जितेपछि जोकोविचले भने, कोर्टमा ओर्लिएपछि दर्शकहरूका साथ पाएर मलाई धेरै ऊर्जा हासिल भयो। मैले यसको आनन्द लिएँ। यो टुर्नामेण्टमा अहिलेसम्मको मेरो सर्वश्रेष्ठ प्रदर्शन थियो। टुर्नामेण्टमा आफ्नो फर्मबारे उनले भने, यो (फर्म) सही समयमा आयो। यहाँ आएर म असल प्रदर्शन गरिरहेको छु अनि अब क्वार्टर फाइनलमा खेल्नेछु। म्याच कठिन रहनेछ। अहिले पनि धेरै चुनौती छ तर मलाई चुनौती नै मन पर्छ।
क्वार्टर फाइनलमा जोकोविचको भिड़न्त रुसका कारेन खाचानोवसँग हुनेछ, जो इटलीका लोरेञ्जो सोनेगोलाई पराजित गरी शीर्ष आठमा पुगे। एघाह्रौं वरीयता प्राप्त खाचानोवले सोनेगोलाई १-६, ६-४, ७-६ (९-७), ६-१-ले पराजित गरे। खाचानोवले यसअघि गत वर्ष अमेरिकी ओपन अनि यस साल अष्ट्रेलियन ओपनमा पनि क्वार्टर फाइनलमा स्थान बनाएका थिए। यसबीच महिला एकलमा एनेस्तेसिया पावल्यूचेंकोवाले चौथो राउण्डमा बेल्जियमकी एलिसे मर्टेन्सलाई ३-६, ७-६ (७-३), ६-३-ले पराजित गरिन्। क्वार्टर फाइनलमा उनले क्यारोलिना मुकोवा विरुद्ध खेल्नेछिन्। मुकोवाले प्री-क्वार्टर फाइनलमा रुसकी एलीना अवानेसयानलाई ६-४, ६-३-ले पराजित गरिन्।









