काठमाडौं: अन्तर्राष्ट्रिय प्रतिष्ठित संस्था वर्ड वुक अफ रेकर्ड लण्डनले नेपालका वरिष्ठ फोटोपत्रकार तथा राष्ट्रिय समाचार समितिका फोटो पत्रकार प्रदीपराज वन्तलाई ‘सर्टिफिकेट अफ एक्सिलेन्स’ प्रदान गर्दै सम्मानित गरेको छ।
नेपालको सामाजिक, राजनीतिक, सांस्कृतिक तथा पर्यटन क्षेत्रको प्रवद्र्धनमा पु¥याएको उल्लेखनीय योगदानको कदर गर्दै उनलाई उक्त सम्मान प्रदान गरिएको हो।
यो सम्मान सन् २०२६ अप्रिल ३० मा काठमाडौंमा आयोजित २०औँ अन्तर्राष्ट्रिय समिट तथा अवार्ड समारोहका अवसरमा प्रदान गरिएको हो। उक्त सम्मानले वन्तको दीर्घकालीन व्यावसायिक यात्रा र योगदानलाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गरेको छ।
दुई दशकभन्दा बढी समयदेखि फोटो पत्रकारितामा सक्रिय वन्तले आफ्नो क्यामेरामार्फत नेपाली समाजका विविध पक्षलाई उजागर गर्दै आएका छन्। उनी हाल राष्ट्रिय समाचार समिति राससमा वरिष्ठ फोटोपत्रकारका रूपमा कार्यरत रहेका छन् भने राष्ट्रिय फोटोपत्रकार समूह नेपालको केन्द्रीय अध्यक्षको जिम्मेवारी पनि सम्हालिरहेका छन्।
फोटो पत्रकारिताको विकास र प्रवद्र्धनमा उनले देशका विभिन्न प्रदेश तथा जिल्लामा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्दै नयाँ पुस्ताका पत्रकार र फोटोग्राफरहरूलाई दक्ष बनाउने कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन्।
यसैगरी, उनले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारको सचिवालयमा समेत फोटोपत्रकारको रुपमा कार्य गरिसकेका छन् भने निर्वाचन आयोग नेपालमा आधिकारिक फोटोग्राफरका रूपमा पनि दुइ पटक समम सेवा दिइसेको छन्।
उनले यसअघि पनि विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान तथा पुरस्कार प्राप्त गरिसकेका छन्। पूर्वराष्ट्रपति विद्यादेवि भण्डारीबाट ‘बेस्ट फोटो जर्नालिस्ट अफ द इयर २०१६’ सम्मान प्राप्त गर्नुका साथै विभिन्न संस्थाबाट प्रशंसा पत्र र सम्मान पाएका छन्।
यसै गरि वन्तले अन्तर्राष्ट्रिय ‘इम्पेरियल फोटो जर्नालिज्म अप्रिसिएसन’ बंगलादेशको ढाकामा सम्मान पनि प्राप्त गरेका छन्। उक्त सम्मानले दक्षिण एशियाली फोटो पत्रकारिता क्षेत्रमा उनको सक्रियता र योगदानलाई अन्तर्राष्ट्रिय स्तरमा थप स्थापित गरेको छ।
फोटो पत्रकारिता, प्रशिक्षण, इभेन्ट व्यवस्थापन तथा शैक्षिक क्षेत्रमा सक्रिय वन्त बहुआयामिक र दक्ष व्यक्तित्वका रूपमा परिचित छन्। उनको योगदानले नेपालको फोटो पत्रकारिता क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन महत्वपूर्ण टेवा पुगेको सरोकारवालाहरूले बताएका छन्।
अन्तर्राष्ट्रिय प्रतिष्ठित संस्था वल्र्ड बुक अफ रेकड्र्स लण्डनद्वारा आयोजित कार्यक्रममा विभिन्न देशका सफल, ख्यातिप्राप्त तथा विविध क्षेत्रका व्यक्तित्वहरूलाई सम्मान गरिएको छ। उक्त कार्यक्रममा कला, साहित्य, स्वास्थ्य, सुरक्षा, पर्यटन, आध्यात्मिकता तथा उद्यमशीलता लगायत क्षेत्रका व्यक्तिहरूलाई अवार्ड प्रदान गरिएको थियो।
सम्मानित हुनेहरूमा नेपाली कला तथा सांस्कृतिक क्षेत्रका अग्रज मदनकृष्ण श्रेष्ठ र बसुन्धरा भुसाल, नृत्य निर्देशनमा विशिष्ट योगदान पु¥याएका बसन्त श्रेष्ठ तथा चलचित्र निर्देशक तुलसी घिमिरे रहेका छन्।
त्यसैगरी स्वास्थ्य तथा शिक्षा क्षेत्रमा योगदान पु¥याउने डा. प्रेम शाह, डा. शान्ति नाथ श्रेष्ठ, डा. ओजस्वी शेरचन र भारतिय डा. सतीश शुक्ला, डा. प्रिया शर्मा, डा. प्रियंका शुक्ला, डा. तिथी भल्ला तथा डा. मधुर टेम्ले पनि सम्मानित भएका छन्।
सुरक्षा तथा सामाजिक क्षेत्रमा योगदान पु¥याउने कल्याण कुमार तिमिल्सिना सांसद तथा आरोही मिङ्मा डेविड शेर्पा र सांसद धनंजय रेग्मी पनि कार्यक्रममा सम्मानित भएका छन्।
भारतिय उद्योग तथा व्यवसाय क्षेत्रका मोहित कुमार कर्णामी, गुरप्रीत सिंह तथा विवेक जैन लगायत रहेका छन्।
त्यसैगरी साहित्य तथा सिर्जनात्मक क्षेत्रमा उषा शेरचन, फेशन कोरीयोग्राफर रोजिन शाक्यलाई पनि सम्मान गरिएको थियो।
चलचित्र तथा कला क्षेत्रमा विशेष योगदान पु¥याउने मनीषा कोईराला, फिल्म निर्माता विष्णु गोपाल श्रेष्ठलाई पनि अवार्ड प्रदान गरिएको थियो।
उक्त कार्यक्रमले विभिन्न देशबीचको सांस्कृतिक, सामाजिक तथा व्यावसायिक सहकार्यलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरिएको छ।










