फुङलिङ नगरपालिकाका मेयरको आरोप

IMG-20241108-WA0192

सीडीओकै कारण ढुंगा हान्नेहरूको मनोबल बढ्यो

फुङलिङ: ताप्लेजुङको फुङलिङ नगरपालिकाका मेयर अमिर मादेनले प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका कारण ढुंगा हान्नेहरुको मनोबल बढेको आरोप लगाएका छन्।
सरकारको अनुमति लिएर केबलकार बनाउने योजना अघि बढेका बेला शिलान्यास गर्न जाँदा प्रशासनले नै अवरोध गरेपछि ढुंगा हानाहानको स्थिति सिर्जना भएको मादेनको जिकिर छ। ‘सरकारले अनुमति दिएर कम्पनीले कन्ट्याकवालालाई सम्झौता दिएर काम गर्नु भन्यो, शिलान्यास कार्यक्रम राखियो’, उनले भने, ‘तर, खन्ने बेला सीडीओले इन्स्पेक्टरलाई चाबी खोस्न लगाए, त्यसपछि ढुंगा हान्नेहरुको मनोबल बढ्यो।’
पाथीभरा केबलकार कम्पनीले निर्माणको ठेक्का पाएपछि शुक्रबार दिउँसो सत्तारुढ नेकपा एकीकृत मालेका जिल्ला अध्यक्ष डम्बरध्वज तुम्बाहाम्फे, फुङलिङ नगरपालिकाका मेयर अमिर मादेन लगायत कार्यक्रमस्थल पुगेका थिए। तर, त्यहाँ पाथीभरामा केबलकार बनाउन दिनु हुँदैन भन्ने पक्षका मानिसहरु विरोध गर्न पुगेका थिए।
‘एक्जाभेटरबाट भूगोल थोरै सम्याएर काफ्ले पाटीमा स्टेशन निर्माणका लागि उद्घाटन गर्न गएका थियौं, त्यो अघि बढाउने कुरामा मैले अन्तिममा सीडीओलाई १५/१६ जनालाई नियन्त्रण लिनुपर्‍यो भनेर फोन पनि गरेँ’, उनले भने, ‘तर, उनले हुँदैन। उनले भोलि, पर्सी मोहाल बनाएर गरौं भने। मैले माहौल बनाउन खोजेको एक दुई तीन वर्ष नै भइसक्यो भन्ने जवाफ दिएको थिएँ।’
यसको केही समयपछि सीडीओ शर्माको निर्देशनमा प्रहरी निरीक्षक विवेक बस्नेतले एक्जाभेटरको चाबी खोसेको मेयर मादेनले बताए। प्रत्यक्षदर्शी हेमराज निरौलाका अनुसार, प्रहरीले एक्जाभेटरको चाबी खोसेपछि केहीबेर विवाद सामसुमजस्तो भयो। तर, निर्माण पक्षले प्रहरीसंग चाबी मागेर एक्जाभेटर लगिछाड्ने अड्डी लियो। ‘निर्माण पक्षले चाबी माग्दै गर्दा माथिपट्टिबाट ढुंगा बर्सियो, त्यसपछि त दुवै पक्षबीच हात हालाहाल भइहाल्यो,’ निरौलाले भने, ‘दुवै पक्षतर्फ घाइते भएका छन्। ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी शर्माले भने तल्लो फेदीको परिस्थिति मूल्यांकन गरेर स्थिति थप विग्रिन नदिन चाबी लिइएको बताएका छन्।

About Author

Advertisement